हेटौंडा/वातावरण सन्तुलनका लागि महत्वपूर्ण प्राणीका रुपमा मानिने सर्पको संरक्षण र उद्धारका लागि हेटौंडा उपमहानगरपालिकाले सामग्री हस्तातरण गरेको छ । हेटौंडामा रहेर सञ्चारकर्मका सक्रिय बाबुछोरालाई सर्प उद्धारका लागि उपमहानगरपालिका कार्यपालिका प्रमुख मीनाकुमारी लामाले सामग्री हस्तान्तरण गरेकी हुन् ।
अनलाइन सञ्चारमाध्यममा सक्रिय राजेश गरिब र रोशन दीपलाई सर्प उद्धारमा प्रयोग गरिने स्नेकक्याच, स्नेक टंक, हुक स्टिक, बुटसेट, ब्याग, ग्लोब्स्, हेडटर्चसहित सामग्री नगर प्रमुख लामाले हस्तान्तरण गरेकी हुन् । राजेश र रोशन बाबुछोरा हुन् । सामग्री ३५ हजार मूल्यबराबरको रहेको उपमहानगर जिन्सी शाखाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले सेवामुखी भावले जोखिमपूर्ण कार्य बिनासुरक्षा गरेकाले सहयोग गरिएको बताइन् । उनले सुरक्षितढंगले काम गर्नका लागि सहयोग होस् भन्ने उद्धेश्यले उपमहानगरले सामग्रीहरु उपलब्ध गराएको बताइन् । सकारात्मक कामका लागि उपमहानगरको सहयोग रहने भन्दै सर्प उद्धार गर्दा सुरक्षित भएर काम गर्न आग्रह गरिन् । उनले पत्रकारितासँगै उपमहानगरका घरघरमा पुगेर निःशुल्क सेवाभावले सर्प उद्धार गरेकोमा धन्यबाद दिइन् ।
उनीहरुले हेटौंडा उपमहानगरका हरेक वडासहित छिमेकी पालिकाका बस्तीहरुमा घरभित्र पसेका सर्प उद्धार गरेर मानव बस्तीभन्दा टाढा बनक्षेत्रमा लगेर छाड्ने गरेको बताए । सर्पको उद्धारपछि विषालु र अविषालु पहिचान गरी डिभिजन बनसँगको समन्वयमा मानव र सर्प दुवैलाई हानि नहुने गरी बनक्षेत्रमा छाडिने गरेको उनीहरुले बताए ।
सर्प उद्धारमा खटिँदै गर्दा बिनासुरक्षा काम गरेको भन्दै हेटौंडा उपमहानगरले आवश्यक सामग्री उपल्ब्ध गराएकोमा खुशी व्यक्त गरे । सर्प उद्धार गर्दै गर्दा आफूहरुले हालसम्म १४ थरि सर्प फेला पारिसकेको र जसमा विषालु किङकोब्रा, स्पेक्टिकल कोब्रा (गोमन सेतीनाग), मोनोस्लेड कोब्रा (गोमन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला पारेको बताए ।
अविषालुमा कपरहेडेट ट्र्रिगेट, कमन ट्रिंगेट, ट्वीनस्पोटेट, उल्फ्स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेकर्ड किलब्याक, अर्नेनेट फ्लेंगयाइ स्नेक, बफस्ट्रिप्ड किलब्याक र धामन सर्पको उद्धार गरिएको उनीहरुले बताए
उपमहानगरपरिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापा, हेटौंडा–९ का अध्यक्ष सुकराम केसीको सहभागिता थियो ।