31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावनभोजमा रमाए हात्ती

वनभोजमा रमाए हात्ती

हेटौंडा/सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत् सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजीस्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा आयोजना गरिएको शिविरमा सौराहाका ४५ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला र पशु प्राविधिक किरण रिजालले हात्तीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

उनीहरुको हात्तीको ज्वरो, खुट्टाको नङ व्यवस्थापन, शरीरमा रहेका घाउ र अन्य संवेदनशिल अंगको परीक्षण गरी उपचार गरेका हुन् । डा. सडौलाले सौराहाको सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै यहाँका हात्तीहरुको परीक्षण गरी उपचार गरिएको बताए । उनले सौराहाका कुनै पनि हात्तीमा हाल क्षयरोगको संक्रमण नरहेको भन्दै उनले परीक्षण भने गर्दै गर्नुपर्ने बताए । कलोपत्र सडकमा हिँड्दा हात्तीको खुुरमा समस्या देखिने गरेको भन्दै डा. सडौलाले हात्तीको नङ व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए ।

महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीको पेनाल्टी सुटआउट, हात्ती सुन्दरी र हात्तीहरुलाई मिष्ठान्न परिकारसहित वनभोज खुवाएको महोत्सव संयोजक रामकुमार आर्यालले बताए । हात्ती वनभोजमा ड्रागनफ्रुट, स्याउ, उखु, केरा, घाँस, खरबुजा, भुइँकटहर, मकै, पाउरोटी, सुन्तला, भेलीमा पकाएको चामललगायत खानेकुरा खुवाइएको संघ महासचिव गुणराज थपलियाले जानकारी दिए ।

नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालिएका छन् । वनभोजमा हात्तीलाई मनपर्ने खानेकुरा दिइएको थियो । कलात्मकरुपमा सजिएका हात्तीले वनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो । हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ ।

दर्जनौं हात्ती एकसाथ भोज गरिरहँदा उनीहरुमा छुटै रौनकता देखिन्थो भने उनीहरुको भोज देखेर पर्यटक तथा दर्शक दंग थिए । महोत्सवअन्तर्गत् भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । प्रतियोगितामा भरतपुर महानगरका तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो । संघ उपाध्यक्ष ओम पाण्डेले उद्घाटन गरेको प्रतियोगितामा रत्ननगर नगरपालिका द्वितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सव आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहा अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका तर्फबाट कानु बोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुंगा चलाएका थिए । सौराहास्थित राप्ती नदीको २ किलोमिटरमा डुंगादौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव सञ्चालन भइरहेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here