हेटौंडा/बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवस्था परिवर्तनको आन्दोलन आजको आवश्यकता भएको बताएका छन् ।
४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको विचार गोष्ठीमा मन्त्री काफ्लेले अवस्था परिवर्तनको आन्दोलनलाई दबाउन खोजे देश निर्माण हुन नसक्ने बताए । वर्तमान व्यवस्थालाई बलियो बनाउन जनतालाई सही सूचना दिनुपर्ने उनको भनाइ छ । मन्त्री काफ्लेले समाज रुपान्तरणका लागि राजनीतिक नेतृत्वहरुले सहीलाई सही गलतलाई गलत भन्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै मन्त्री काफ्लेले नयाँ राजनीतिक दलको उदय सामान्य भए पनि ती दलहरुले जनतामा गलत भ्रम फैलाएको जिकिर गरे ।
मन्त्री काफ्लेले राजनीतिक दलहरुप्रति जनताको आक्रोश र निराश स्वभाविक भएको बताए । निर्वाचनको बेला सबै राजनीतिक दलले चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य निःशुल्क भने पनि व्यवहारमा लागु गर्न नसकेकै कारण जनताको असन्तुष्टि बढेको उनले बताए । मन्त्री काफ्लेले राज्यको सबै क्षेत्रमा जनताको समान पहुँच हुने गरी निर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । वीपी विचार समाज मकवानपुर अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्षतमा भएको कार्यक्रममा सहभागी वक्ताहरुले वीपीले नेपालको राजनीति र साहित्य क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।