काठमाडौं/पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शुक्रबार साँझदेखि नेपालको धेरैजसो स्थानमा मौसम बदली हुने सम्भावना छ । ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयअन्तर्गत् जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार पुस १२ र १३ गतेका लागि हिमपात, वर्षा र चिसोका सम्भावित प्रभावबारे सचेत रहन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागमा मध्यम हिमपात हुने सम्भावना छ । गण्डकी, वागमती र कोशी प्रदेशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम हिमपात हुने देखिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, वागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान छ ।
यस प्रणालीका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नसक्ने जनाइएको छ । यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातमा असर पुर्याउने सम्भावना छ । महाशाखाले सम्पूर्ण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले दैनिक तीन दिने पूर्वानुमान बुलेटिनमार्फत् थप जानकारी नियमितरुपमा प्रदान गर्नेछ ।