हेटौंडा/वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले वनजंगल जोगाउने सोचाइ सबैमा हुनुपर्ने बताएका छन् । मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह र नमस्ते बायो इनर्जी उद्योगले संयुक्तरुपमा सञ्चालन गरेको ७ दिने अगरबत्ती निर्माण तालिम उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका
हुन् ।
‘वन जोगाउने र वन जोगाउनका लागि आमजनसमुदायको सहभागिता बृद्धि गर्ने गरी सबैले काम गर्नुपर्छ,’ मन्त्री सिलवालले भने–बरु, सामुदायिक वनको नाफा वा घाटा सबै उपभोक्ताहरुको पुग्ने गरी वन समूहहरुले काम गर्नु उपयुक्त हुनेछ । उनले आफू मन्त्री भएर आएपछि निरन्तर वन र उद्यम जोड्ने विषयलाई उठान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर वनलाई उद्यमसँग जोडेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने काममा लागि परिरहने बताए ।
खेर गएरका झाडी, वनमारा तथा माइकेनिया झारलाई जलाएर नष्ट गरी अगरबत्ती बनाउनका लागि कोइला बनाउने कार्यले महिलालाई रोजगारीसमेत सिर्जना हुने भएकाले पवित्र काम भएको उनको भनाइ थियो । कार्यक्रममा डिभिजनल वन कार्यालय राप्ती मनहरी प्रमुख लोकराज नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका न्यायिक समिति सदस्य हेमलाल उप्रेती, महासंघ मनहरी अध्यक्ष रघुनाथ रुम्बा, डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर मुक्तानलगायतले शुभकामना मन्तव्य राखेका थिए । सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष पार्वती मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वन समूह सचिव रमेश कार्कीले स्वागत मन्तव्य तथा उद्योगका प्रवन्ध निर्देशक नारायण श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रमपछि चारकोल निर्माणका सम्बन्धमा मन्त्री सिलवालसहित टोलीले जंगलको अवलोकन र अनुगमन गरेको थियो । ७ दिनसम्म चल्ने तालिममा स्थानीय महिलाको सहभागिता रहेको वन समूहले जनाएको छ ।