हेटौंडा/हेटौंडा उपमहानगरपालिका-४ वडा कार्यालयले नेपाल पत्रकार महासंघको नवनिर्वाचित वागमती प्रदेश समिति र मकवानपुर जिल्ला समितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
मंसिर २८ मा सम्पन्न निर्वाचनमा प्रदेश समितिमा मकवानपुर जिल्लाबाट निर्वाचितहरुलाई र जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी, सदस्यलाई बधाई तथा सम्मान गरिएको हो । वडा कार्यालयले नवनिर्वाचितहरुलाई टीका, खादा लगाएर सम्मान गर्नुका साथै डायरी उपहार प्रदान गरेको थियो । बधाई तथा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष नवीन सिग्देलले आफू सधैं पत्रकारको हकहितको पक्षमा रहने प्रतिबद्धता जनाए । वडामा पत्रकार महासंघको जिल्ला कार्यालयसमेत रहेकाले आगामी दिनहरुमा सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका नवनिर्वाचित उपाध्यक्ष हरि हुमागाईंले श्रमजीवी पत्रकारको हकअधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले श्रमजीवी पत्रकार तथा सञ्चारगृहलाई बलियो बनाउन लाग्ने प्रतिबद्धता जनाए ।
सम्मान कार्यक्रममा महासंघ प्रदेश सदस्य सुर्वणलाल श्रेष्ठ, जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । सोही अवसरमा भुटनदेवी माध्यमिक विद्यालयका अवैतनिक कानुनी सल्लाहकार पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष अधिकारीलाई विद्यालयले सम्मानसमेत गरेको थियो ।