हेटौंडा/किसानले उत्पादन गरेका सामग्रीलाई सहजढंगबाट बजारीकरणमा सहयोग पुर्याउने उद्धेश्यअनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यानसहित कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत् पालिकामा चिस्यानसहित कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाखमा थप गरी खरिद गरिएको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा-१३ को आधामार कृषक समूहलाई हस्तान्तरण गरिएको हो । संघबाट आएको पैसामा उपमहानगर कार्यपालिका बैठकले थप रकम लगानी गरी खुला प्रतिस्पर्धामार्फत् ३४ लाख ९० हजारमा खरिद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समूह अध्यक्ष फेञ्चु लामालाई हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा खरिद गरिएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सूचना जारी गरेपछि निवेदन दिएका २ वटा कृषक समूहमध्ये मूल्यांकनका आधारमा आधामारलाई योग्य मान्दै हस्तान्तरण गरिएको उपमहानगर कृषि शाखा प्रमुख प्रदीप रेग्मीले बताए । उनका अनुसार चिस्यानसहित एम्बुलेन्स भएकाले फलफुल, तरकारीसहित उत्पादनलाई स्वच्छढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।
हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा-१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगर प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले एम्बुलेन्सको चाबी र सम्झौतापत्र हस्तान्तरण गरेका थिए । हस्तान्तर गर्दै नगर प्रमुख लामाले न्यूनतम् मूल्य राखेर सञ्चालन हुने एम्बुलेन्सका कारण उक्त क्षेत्रका कृषकको उत्पादनलाई सहजढंगबाट बजारसम्म ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । यसअघि मंगलबार नै हेटांैडा उपमहानगरपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको वागमती गाउँपालिकालाई विपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।