27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाखेल मन्त्रालयको बजेट निकै न्यून

खेल मन्त्रालयको बजेट निकै न्यून

हेटौंडा/वागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र उक्त बजेट निकै न्यून भएका कारण युवावर्ग र खेलकुदजगत्‌का लागि अपेक्षाकृत काम गर्न कठिनाइ भइरहेको उल्लेख गरे ।

उनले भने-मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थें । तर, म खेलक्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो, जुन अत्यन्त न्यून छ । त्यसकारण सोचेअनुसार काम गर्न सकिएको छैन ।

उनले बजेट बृद्धि गर्न प्रदेश सरकारसँग नियमितरुपमा पहल भइरहेको भन्दै मातहतका कार्यालयले सञ्चालन गर्दै आएका आयोजनाहरुलाई पूर्णता दिन आफूले सक्दो पहल गर्ने बाचा गर्दै कार्यालय प्रमुखहरुलाई निराश नहुन आग्रह गरे । उनले देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजनाबमोजिम नतिजा हासिल गर्ने गरी प्रभावकारीरुपमा कार्यसम्पादन गर्न मन्त्रालय एवम् र सम्बद्ध निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

बैठकमा प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषद्‌बाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताए । उनले राज्यले खेलकुदको विषय पाठ्‌यक्रममा समावेश गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले परिषद्‌बाट सञ्चालन भइरहेका युवालक्षित कार्यक्रमबारे जानकारी गराउँदै तथ्यांक व्यवस्थापन नहुँदा तालिम कार्यक्रम सञ्चालन गर्न केही कठिनाइ भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुरका कार्यालय प्रमुखहरुले सञ्चालित आयोजनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए । उनीहरुले मन्त्रालय र अन्तर्गत् निकायहरुको त्रैमासिक प्रगतिका साथै आयोजनाहरुकोे वित्तीय एवम् भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरुबारे प्रस्तुतिकरण गरेका थिए । बैठकमा कार्यालयका प्रमुखहरुले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी विगतका अनुभवबाट पाठ सिक्दै प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here