हेटौंडा/वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानसँग मेल नखाएका प्रदेशका कानुनहरुलाई संशोधन गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रममा उनले प्रदेशबासीको हित नहुने कानुन बनाउनुको कुनै अर्थ नहुने बताए ।
संविधानसँग बाझिएका ऐनकानुनहरु सम्बन्धित निकायको परामर्शमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश प्रमुख देवकोटाले तीन वटै तहको सरकारबीच देखिएका समस्याहरुको विषयमा एउटा निष्कर्षमा पुगेर समाधान निकाल्नुपर्ने बताए । समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन गर्नु नै जिल्ला समन्वय समितिको गाइडलाइन भएको उनको भनाइ छ । प्रदेश प्रमुख देवकोटाले कुनै दल र स्वार्थबिना मकवानपुरको माटो र जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा वागमती प्रदेशसभा सांसद् एकालाल श्रेष्ठले तीन वटै तहका सरकारबीच अझै पनि अन्यौलता रहेको बताए । वागमती प्रदेशमा आवश्यक ऐनकानुन बनाउन र बनेको कानुन कार्यान्वयनका लागि कार्यविधि बनाउन ढिलासुस्ती भएको उनको भनाइ छ । सांसद् श्रेष्ठले जनताको बदलिँंदो आवश्यकता र सीमित स्रोतसाधनबीच तालमेल मिलाउन पनि सरकारहरुबीच समन्वयको आवश्यकता रहेको बताए । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका १० वटा स्थानीय तहसहित २३ वटा निकायले प्रस्तुतिकरण राखेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षाको अवसरमा मनहरी गाउँपालिका र थाहा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट स्थानीय तहका रुपमा सम्मानित भएका छन् । हेटौंडा उपमहानगरपालिका दोस्रो, गढी र कैलाश गाउँपालिका तेस्रो हुन सफल भएका छन् । जिल्ला समन्वय समितिले उत्कृष्ट कर्मचारीका रुपमा इन्द्रसरोवर गाउँपालिकाका राजन खतिवडा र जिससकै सवइञ्जिनियर पूजा यादबलाई सम्मान गरेको छ । समाज सेवातर्फ अर्पण पराजुली र कल्पना शर्मालाई सम्मान गरिएको छ ।
पत्रकारितातर्फ गणेशदर्पण अधिकारी र भावना रिजाल सम्मानित भएका छन् । एसईईमा उत्कृष्ट विद्यालयका रुपमा प्रगति मावि र बालजागृति इङ्ग्लिस स्कुललाई सम्मान गरिएको छ । उत्कृष्ट सहकारी, उत्कृष्ट खेलाडी, उत्कृष्ट सामुदायिक वन, घरेलु तथा महिला उद्यमी, स्वास्थ्य स्वयम्सेविका र मेलमिलापकर्ता गरी १३ वटा विधामा २४ जनालाई प्रदेश प्रमुख देवकोटाले सम्मान गरे ।