हेटौंडा/हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बीए २२ जे ५३३३ नम्बर कारबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार विहान अवैध लागुऔषध गाँजा करिब १५ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी ग्राम पञ्चायत राजमुरा-१४, चाग्डी गाउँ बस्ने २६ वर्षीय अखिलेखकुमार साह र १९ वर्षीय राजकुमार पासवान छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त कारलाई जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकखण्डमा चेक गर्ने क्रममा कारको पछाडि सिटमा फल्सबटम बनाइ लुकाइछिपाइ राखेको गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये अखिलेखकुमार कारचालक र राजकुमार कारमा सवार थिए । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ ।