हेटौंडा/छिमेकी चितवनको पर्यटकीय नगर सौराहामा पुस ११ देखि १५ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । हात्ती तथा पर्यटन महोत्सवको १८ औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने आयोजकले जनाएको छ ।
आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलन गरी पर्यटन महोत्सवको उद्धेश्य र तयारीबारे जानकारी दिएको हो । सौराहासहित समग्र चितवनको पर्यटन विकासका लागि हरेक वर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको संघ अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुनेछ । ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न राष्ट्रपति पौडेलबाट चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सव संयोजक रामकुमार आर्यालले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी हात्ती तथा पर्यटन महोत्सव उद्घाटन समारोहबीच जिल्लालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उनले बताए ।
विश्व सम्पदामा सूचीमा सूचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।
सौराहामा दुई दशकदेखि आयोजना गर्दै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको भन्दै संघ महासचिव गुणराज थपलियाले महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत् पर्यटक आगमनमा वृद्धि हुने गरेको बताए । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासका अलावा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तराष्ट्रियस्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास छ ।
चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूणर् गन्तव्यस्थलका रुपमा चिनाउनेसमेत महोत्सवको अभिप्राय छ । हात्ती महोत्सवअन्तर्गत् जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक्, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तत्र्रिmया, स्थानीय भेषभुषा तथा कला सँस्कृतिसहित झँँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन समाबेश गरिएको संघ सचिव महेश खनालले जानकारी दिए । महोत्सवअन्तर्गत् हुने विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी उनले जानकारी दिए ।
हात्ती तथा पर्यटन महोत्सवको अवसरमा व्यवसायीहरुले पुस १० देखि १६ गतेसम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत् छुटको व्यवस्था गरेका छन् । रत्ननगर नगरपालिका वडा-७ की अध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको कार्यक्रममा वडा-६ का वडाध्यक्ष किरण चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेवान सौराहा अध्यक्ष ध्रुव गिरीलगायतले मन्तव्य राखेका थिए ।