काठमाडौं/आर्थिक वर्ष २०६३/०६४ मा नेपालमा खास विष १ सय ३१ मेट्रिकटन आयात भएको थियो । अनियन्त्रित र आफूखुशी प्रयोग दर बढ्दै गएर पछिल्लो समयमा आयात परिमाण बढ्दै हाल १ हजार १ सय ८३ मेट्रिकटनसम्म आयात हुन थालेको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो समयमा बाली, पशुपक्षीसहित सर्वसाधारणमा फैलिएको विभिन्न प्रकारको महामारीका कारण यस्ता विषको आयात निकै बढेको हो । कृषि विभागका पूर्व महानिर्देशकसमेत रहेका विषादीविज्ञ डा. डिल्लीराम शर्मामा अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत् हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत् विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।
८५ प्रतिशत्मध्ये पनि सबभन्दा बढी अर्थात् करिब ७० प्रतिशत् विषादी काभ्रे, बारा, सर्लाही, धादिङ, कपिलवस्तु, मकवानपुरका किसानले तरकारीबालीमा प्रयोग गर्दै आएका छन् । विषादीको आयात दर तथा रासायनिक मलको बिक्री दर बढ्दै गएको छ । विषादीको प्रयोग पनि अधिक देखिएको छ । अमेरिका र युरोपमा प्रतिहेक्टरमा एकसय ४५ ग्राम विषादी प्रयोग भइरहे पनि नेपाली किसानले प्रतिहेक्टर एकहजार ६ सय ५ ग्रामसम्म प्रयोग गर्ने गरेका छन् ।
नेपालको तरकारीबालीमा सरकारले प्रतिवन्ध गरेको विषादी प्रयोग हुँदै आएको पाइएको छ । सरकारले दुई सामान्य समूहबाहेक अन्य प्रकारका घातक विषादी (विष) को बारे परीक्षण नगर्दा प्रतिवन्धित विष पनि प्रयोग हुँदै आएको छ । सरकारले तरकारीबालीमा पाइने विषादीबारे परीक्षण जिम्मेवारी केन्द्रीय कृषि प्रयोगशालालाई दिएको छ । तरकारीसहित खाद्यान्नमा पाइने विषादीबारे परीक्षण जिम्मेवारी खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई दिइएको छ ।
सरकारले झारा टार्ने गरी केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत् द्रुत विश्लेषण एकाईं कार्यालयमार्फत् फोटो स्पेक्टोमिटरसहित विषादी अवशेष द्रुत प्रयोगशाला (आरबीपीआर) मार्फत् अर्गेनोफोस्फेट र कार्बामेट समूहको विषादीको मात्र परीक्षण गर्दै आएको छ । हालको समयमा अत्यन्त सामान्य भइसकेको यो दुई विषादीबाहेक अन्य प्रकारको घातक विषादीको परीक्षण भने गरेको छैन । यसले गर्दा खुला सिमानाको फाइदा उठाउँदै व्यापारीले सहज लुकाइछिपाइ प्रतिवन्धित विषादी आयात गर्ने र बिक्री गर्दै आएका छन् ।
सामान्य प्रकृतिको दुई समूहअन्तर्गत् १२ वटा विषादीको परीक्षण गरिरहेको सरकारले मानव स्वास्थ्यलाई अत्यन्त हानि पुर्याउने विषादीबारे परीक्षण गरेको छैन । सरकारले हालसम्म इन्सेक्टिसाइड, एकारिसाइड, निमाटिसाइड, फन्गीसाइड, ब्याक्टेरिसाइड, हर्वीसाइड, रोडेन्टीसाइड, मोलससाइड, वायोपेस्टीसाइड र हर्वल समूहतर्फ १ सय ६५ प्रकारका विषादी आयात, बिक्री बितरण र प्रयोग गर्न अनुमति दिएको छ ।
विषादीविज्ञ डा. शर्माका अनुसार आरबीपीआर प्रविधिसहित प्रयोगशाला सञ्चालन हुने समयमा विशेषगरि तरकारी बालीमा अर्गेनोफस्फेट र कार्बामेट समूहका विषादीहरु ६० देखि ७० प्रतिशत् प्रयोग भइरहेको थियो । ‘आरबीपीआरको स्थापना भएर परीक्षण हुन थालेपछि आफनो बालीमा विषादीको अवशेष देखिने डरले किसानहरुले बिस्तारै अर्गेनोफस्फेट र कार्बामेट विषादीहरु प्रयोग गर्न छाडेर अन्य घातक समूहका विषादीहरु प्रयोग गर्न थालेको पाइएको छ,’ उनले भने । विज्ञहरुका अनुसार पछिल्लो समयमा नेपालमा अर्गेनोफस्फेट र कार्बामेट समूहका विषादीबाहेक सिन्थेटिक पाइरिथ्रोड, न्युओनिकोटिनोइड, म्याक्रोसाईकिल्क ल्याक्टोन, निकोटिनोइड, पाइराजोल, फन्गिसाइडसलगायत अत्यन्त घातक विषादीहरु बालीनालीमा प्रयोग हुन थालेको छ । विषादीयुक्त तरकारी र फलफूल आयात पनि भइरहेका छन् ।
यस्ता घातक विषादीको अवशेषबारे आरबीपीआर प्रयोगशालाले पत्ता लगाउन सक्दैन र फलस्वरुप जति धेरै विषादीको अवशेष भए पनि अवशेष नभएको र खानयोग्य रहेको भन्ने प्रमाण दिन प्रयोगशाला बाध्य हुने गरेको छ । सर्वोच्च अदालतले विषादी परीक्षणका आधारमा मात्र तरकारी तथा फलफूल आयात गर्न दिन २०७६ असार ३१ गते सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशअनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत् केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत् पनि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकार्इंमार्फत् अर्गेनोफस्फेट र कार्बामेट समूहका विषादी परीक्षण हुँदै आएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले आफ्ना विभिन्न कार्यालयमार्फत् २०७८ कात्तिक १ गतेदेखि आयात हुने तरकारी तथा फलफूलमा पाइने अर्गेनोफस्फेट र कार्बामेट समूहका विषादीको परीक्षण गर्दै आएको छ । विषादीविज्ञ शर्माका अनुसार स्वदेशमै स्वच्छ र स्वास्थ्यवद्र्धक तरकारी र फलफूल उत्पादन गर्न र विदेशबाट आयात हुने घातक विषादीयुक्त तरकारी तथा फलफूल परीक्षण गर्न सीमा क्षेत्रमै ग्यास क्रोमाटोग्राफी वा लिक्विड क्रोमाटोग्राफी प्रविधिमा आधारित अत्याधुनिक प्रयोगशाला आवश्यक पर्छ ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले बजेट र उपकरण व्यवस्थापन गरेर अत्यन्त घातक मानिएका दुई समूह सिन्थेटिक पाइरिथ्रोइड र डिथोकार्बामेटअन्तर्गत् विषादीको पनि परीक्षण गर्ने योजना अघि बढाइएको जानकारी दिइन् । ‘हाम्रो प्रयोगशाला हालसम्म अर्गेनोफोस्फोट र कार्बामेट समूहको विषादीको अवशेष पत्ता लगाउने क्षमताको मात्र छ,’ उनले भनिन्-त्यसबाहेक विषादी परीक्षण गर्ने उपकरण हामीसँग छैन । निकट समयमै सिन्थेटिक पाइरिथ्रोइड र डिथोकार्बामेटअन्तर्गत् विषादीको पनि परीक्षण गर्ने योजना अघि बढाएका छौंं ।
विषादीयुक्त खाद्यान्न र तरकारी नियमितरुपमा सेवन गर्दा वा विषादीको नियमित असुरक्षितरुपमा सम्पर्कमा आउँदा दीर्घकालिन भयावह रोग क्यान्सर, नपुंसकता, रोगविरुद्ध प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर (कलेजो) बिग्रने, ट्युमर हुने र गर्भावस्था तुहिनेजस्ता समस्या आउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।