31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेशमा उत्पादित दूधको खपत बढाउन विकल्पको खोजी

प्रदेशमा उत्पादित दूधको खपत बढाउन विकल्पको खोजी

हेटौंडा/नेपालमा सबभन्दा धेरै दूध उत्पादन हुने प्रदेश नै वागमती हो । त्यसमा पनि चितवन जिल्ला अग्रस्थानमा रहेको चितवनका किसानहरुले दाबी गर्दै आएका छन् । तर, दुग्ध उत्पादनको क्षेत्रमा थुप्रै समस्या छन्, जुन चितवनका किसानले आन्दोलनकै मुद्धा बनाउँदै आएका छन् ।

हरेक वर्ष कुनै न कुनै बहानामा मिल्क होलिडे गर्न बाध्य छन् । तिनै समस्यालाई बुझेर काम गर्न दुग्ध विकास बोर्ड वागमती प्रदेशलाई किसानले सुझाव दिएका छन् । बोर्डको उपाध्यक्ष नियुक्त भएका हरिप्रसाद पौडेललाई सम्मान तथा बधाई दिँदै किसानलाई पेसाबाट जोगाउन किसानलक्षित कार्यक्रम गर्न आवश्यक रहेको किसानहरुले बताएका हुन् ।

दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय सदस्य हरिहर सुबेदीले चितवनका किसान अझै पनि डीडीसीबाट पीडित बनेको बताए । ‘चार/पाँच महिनादेखि डीडीसीले भुक्तानी दिएको छैन । अब किसानले आफ्नो पेसालाई कसरी निरन्तरता दिन सक्छन् ?’ उनले प्रश्न गर्दैै भने-त्यसैले किसानको उत्पादनअनुसार मूल्य र बजारको व्यवस्थापनमा बोर्डले ध्यान दिनु आवश्यक छ । डीडीसीले कहिले भुक्तानी रोक्ने, कहिले दूध नै नउठाइनेजस्ता समस्या सिर्जना गरेर किसानलाई दुःख दिँदै आएको उनको भनाइ छ ।

संघ केन्द्रीय उपाध्यक्ष भागीरथ तिमिल्सिनाले पनि आफ्नो कार्यकाल सकिएर पूर्व हुँदै गर्दा पनि किसानले सम्झिइरहने गरी काम गर्न बोर्ड उपाध्यक्ष पौडेललाई सुझाव दिए । ‘किसानका तमाम समस्याबारे जानकार प्राप्त व्यक्ति नै आधिकारिक निकायमा पुग्नुभएको छ, त्यसले हामीलाई थप आशा जगाएको छ,’ उनले भने-आफ्नो कार्यकाल सफल तुल्याउनका लागि किसानसँग समन्वय र सरसल्लाह पनि आवश्यक हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिएर काम गर्नुहोला ।

दुग्ध उत्पादनकै क्षेत्रमा ४० वर्ष बिताइसकेको बताउँदै उनले थपे-हामीले प्राप्त गरेको चार दशकको अनुभव पनि पक्कै काम लाग्ला । कुनै पनि काम गर्नका लागि किसानको आवश्यकता हेरेर गर्नु आवश्यक रहेको उनको भनाइ छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अध्यक्ष किशोर बगालेले चितवन जिल्लाको सहकारीकर्मीलाई नै दुग्ध विकास बोर्डको उपाध्यक्षमा पाउँदा चितवनका किसान थप हौसिएको बताए । त्यसकारण चितवनका किसानले सधैं सम्झिने गरी काम गर्न उनले सुझाव दिए ।

सहकारीले चितवनमा दाना उत्पादन तथा व्यवस्थापन, चिस्यान केन्द्र निर्माण, चकलेट उत्पादनका लागि उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको भन्दै त्यसतर्फ सक्दो सहयोग गरिदिन उनले आग्रह गरे । ५० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र आउँदो माघदेखि नै सञ्चालनमा ल्याउन सकिने गरी काम भइरहेको अध्यक्ष बगालेले जानकारी
गराए ।

बोर्ड उपाध्यक्ष हरिप्रसाद पौडेलले किसानले न्यायको महसुस गर्ने गरी काम गर्ने हुटहुटी रहेको आश्वासन दिए । आफू पनि सहकारीकर्मी भएकोले पाएको अवसरलाई आशाको किरण जगाउने गरी काम गर्ने प्रयास हुने उनले बताए । आफू कृषि मन्त्रालयअन्तर्गत् नियुक्त भए पनि प्रदेशमा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सहकारी मन्त्रालयलगायत मन्त्रालयसँग पनि समन्वय गरेर काम गर्न सकिने हुँदा किसानको हितमा काम गर्न सहज हुने उनको भनाइ छ ।

‘काम गर्न त्यति सहज त छैन, तापनि जति सकिन्छ सबैको साथ र सहयोगले आफ्नो कर्ममा सफल हुने विश्वास लिएको छु,’ उनले भने-त्यसका लागि चितवनका किसानको सबभन्दा धेरै साथ र सहयोगको अपेक्षा गरेको छु । सबभन्दा पहिले प्रदेशमा उत्पादित दूधको खपत बढाउन विकल्पको खोजी भइरहेको उनले बताए । कृषि क्षेत्रमा रहेको समस्यालाई दीगोरुपमै समाधान गर्नका लागि किसानबाट दबाब आउनुपर्ने उनको भनाइ छ । त्यसले मन्त्रालयमा काम गर्न दबाब पुग्ने उनले बताए । ‘चितवन नै सबभन्दा बढी किसान भएको जिल्ला हो । त्यसैले, चितवनले नै सबै जिल्लाको प्रतिनिधित्व गर्छ,’ उनले भने-अन्य जिल्लालाई सहज हुनका लागि पनि चितवनले आवाज उठाउनुपर्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here