हेटौंडा/वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेसिजलाई युवालक्षित उत्कृष्ट कार्यक्रम पहिचान गरी अगाडि बढ्न शुभकामना दिएका छन् । युवालाई उद्यमशीलतामार्फत् स्वरोजगार र रोजगारी सिर्जनाको बाटोमा डोर्याउने जेसिजको आर्थिक क्रियाशीलताको योगदान उत्कृष्ट रहेको उनले बताए ।
हेटौंडा जेसिजको आयोजनामा भएको पब्लिक स्पिकिङ समापन कार्यक्रममा उनले सँस्कृति जगेर्ना र सामाजिक कार्यको धरातलमा स्थापित जेसिजले नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा अहम् भूमिका खेलेको बताए । देशको भविष्य थाम्ने युवा कुहिरोको कागजस्तै गन्तव्यहीन दिशामा गुज्रेको हो कि भन्ने अवस्था आएको भन्दै यस्तो पिरलोबाट बचाउन जेसिजले नेतृत्व तथा व्यक्तित्व विकासका लागि योगदान गर्दै आएको उनले बताए ।
युवालाई सँस्कार, शिक्षा, सहयोग, श्रमशीलता, व्यक्तिगत् विकास र सकारात्मकताको ऊर्जा थप्ने युवालक्षित जेसिजका कार्यक्रम प्रशंसायोग्य रहेको उनले बताए ।‘ॅयुवाकालमा व्यक्ति क्रियाशील छ भने उसमा बुढ्यौलीको भान कहिल्यै हँुदैन । मान्छे उमेरभन्दा सोच र क्रियाहीनताले बुढो देखिन्छ,’ उनले भने । मान्छे क्षमता नभएर होइन क्षमता नचिनेर पछि परेको उनको भनाइ थियोे । जेसिजले युवामा उत्साह उजागर गर्ने गरेको आफूले पाएको उनको कथन छ । ‘भनिन्छ, ९६ प्रतिशत् डर वास्तविक नभएर काल्पनिक हुन्छन् । महान्भन्दा महान विचार नबोल्दासम्म अर्थहीन नै रहने गर्छन्,’ उनले युवालाई उच्च मनोबलसाथ प्रगतिपथमा लम्किन आग्रह गरे । निरन्तर र अर्थपूणर् अभ्यासले राम्रो वक्ता बन्न सकिने बताउँदै उनले यसको बलमा व्यक्तित्व विकास हुने बताए ।
देशभरबाट सहभागी ५८ मध्येबाट उत्कृष्ट १० जनाबाट पुरस्कृत छनौटका लागि कार्यक्रम गरिएको अध्यक्ष बिकेशलाल श्रेष्ठले बताए । प्रतियोगिताबाट सुष्मा आचार्य (पोखरा) प्रथम, रमेश भुर्तेल (कावासोती) द्वितीय र तृतीय बन्दना बिश्वकर्मा (कावसोती) भएका थिए । उनीहरुलाई २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । सन् २०२० बाट जेसिजले प्रतियोगिता सुरु गरेको थियो । यो पाँचौं संस्करण भएको उनले बताए ।