हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । आइतबार सचिवालय उद्घाटनसँगै उनले अध्यक्षमा आफ्नो उम्मेदवार रहेको घोषणा गरेका हुन् ।
अग्रवालकी आमा रमेदेवी अग्रवालले रिबन काटेर सचिवालय उद्घाटन गरेकी थिइन् । उद्घाटनसँगै उम्मेदवार अग्रवालले उद्योगी/व्यवसायीलाई सबैको साझा समस्यामा आफू सधैं उभिने प्रतिवद्धता व्यक्त गरेका थिए । सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको यात्रामा साथ दिने सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी निर्वाचनमा अध्यक्षमा मतदान गरी सहयोग गर्न उनले आग्रह गरेका छन् ।
करिब १७ वर्षदेखि संघमा रहेर काम गरिरहेका अग्रवाल कपडा व्यवसायी हुन् । व्यवसायीमात्र नभइ उनले विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । उनी लायन्स, जेसीज, सहकारी, स्वास्थ्यलगायत क्षेत्रमा सक्रिय छन् ।
उनले टिमको प्रतिवद्धता र पूणर्टिमको घोषणा छिटै गरिने बताउँदै उद्योगी र व्यवसायीको हकहितमा आफू सदैंव लाग्ने बताए । अग्रवालले उम्मेदवारी घोषणा गर्दै तीन तहकै सरकारसँगको सहकार्य र समन्वय गरी व्यवसायीको पक्षमा वकालत गरिने बताए ।
बजार चलयमान बनाउन स्थानीय सरकारसँग समन्वय गरी रात्रिबजार, व्यवस्थित वधशाला, सब्जी बजारलगायत उचित व्यवस्थापन गर्न आफूले भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता छ । विकाससँग हातेमालो गर्ने, आर्थिक विकासमा टेवा पुर्याउने, व्यापारीहरुलाई करलगायत विषयमा प्रशिक्षण दिने, विभिन्न प्रशिक्षण केन्द्र स्थापनामा जोड दिँदै स्वरोजगार जनशक्ति उत्पादन, व्यापारी राहत कोष थप बृद्धि गदै लैजाने, भयमुक्त व्यावसायिक सुरक्षाको प्रत्याभूतिलगायत उनका एजेण्डा छन् ।
‘संघ कार्यसमितिका सदस्यहरुमध्ये सबभन्दा पुरानो र अनुभवी व्यक्तित्वका साथै संघलाई थप उचाईंमा पुर्याउन तथा उद्योगी/व्यवसायीका समस्याहरुमा गहन अध्ययन र समस्या न्यूनीकरणका लागि अहोरात्र खटिँदै आएको पनि छु,’ उनले भने-मेरो नेतृत्वमा संघको गरिमा उच्च बनाउने र संस्थागत् विकासका कामहरुमा मलगायत मेरो टिम लाग्ने प्रतिवद्वता जाहेर गर्दछु ।
उनी जीवनकाजी माकजुको अध्यक्षता रहेको कार्यसमितिमा आमन्त्रित सदस्य, अरुणराज सुमार्गीको अध्यक्षतमा रहेको कार्यसमितिमा कार्यसमिति सदस्य, भुवनलाल श्रेष्ठको अध्यक्षता रहेको बेला सहकोषाध्यक्ष, राजकुमार न्यौपाने अध्यक्षत रहेको बेला कार्यसमिति सदस्य, कृष्ण कटुवालको अध्यक्षता रहेको बेला कोषाध्यक्ष र हाल कृष्णकुमार गुप्ताअग्रवाल अध्यक्ष रहेको बेला वरिष्ठ उपाध्यक्ष छन् ।
‘उद्योग वाणिज्य संघमा १७ वर्ष लामो यात्रामा विवादरहित रहेको र हालसम्म मकवानपुरका उद्योगी/व्यवसायीले मलाई विजयी गराउँदै आउनुभएकोमा धन्यबाद व्यक्त गर्दै अब अन्तिम पटक पनि यहाँहरुको साथ सहयोग र अमूल्य मतको अपेक्षा मैले गरेको छु,’ उनले भने-म मकवानपुरका उद्योगी/व्यवसायीको हरेक सुखदुःखमा सहभागी हँुदै आएको यहाँहरुलाई विदित छ ।
आफ्नो नेतृत्वमा गठित कार्यसमितिले उद्योगी/व्यवसायीका समस्यामा सहजीकरण गर्ने, स्थानीय र प्रदेश सरकारसँग थप सुमधुर सम्बन्ध बनाउने, आन्तरिक राजस्व कार्यालयको हेल्पडेस्कलाई थप सुबिधाजनकरुपमा व्यवस्थित गरिने, आन्तरिक राजस्व कार्यालयसँग सम्बन्ध सुधार गर्दै करका समस्यामा सहजीकरण गरिने, उवा महासंघ प्रदेश तथा केन्द्रसँग सम्बन्ध सुधार गर्दै विभिन्न जानकारीमूलक कार्यक्रम ल्याउने, साना व्यवसायीहरुको व्यवसाय कर तथा राजस्व कर भुक्तानीलाई अधिकतम् सहजीकरण गरिने उनले बताए ।
साना व्यवसायीहरुको करचुक्ता प्रमाणपत्र उपलब्ध गराउन सहजीकरण, हरेक सरकारी अनुगमनमा कार्यसमिति जिम्मेवार पदाधिकारीको सहभागिता, जिल्लामा उद्योगमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका लागि प्राथमिकतामा राख्दै काम गरिने, महिला उद्यमी विकास समिति सञ्चालन निर्देशिका बनाइने, मउवा संघ पश्चिमी क्षेत्र समितिको निर्देशिका समयानुकूल परिमार्जन गरिने, उद्योगी/व्यवासायीलक्षित कर सचेतना कार्यक्रम गरिने, संघमा आर्थिक पारदर्शिताको नीति अवलम्बन गरिने र उद्योगी/व्यवसायीको अहित हुने गरी व्यापार मेला/महोत्वस नगरिने उनले बताए ।
संघमा आमन्त्रित सदस्य हुँदै समितिमा प्रवेश गरेका अग्रवाल दुई पटक कार्यसमिति सदस्य र दुई पटक सहकोषाध्यक्ष हुँदै एकपटक कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गरेका छन् । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । वाणिज्यतर्फ उपाध्यक्ष निर्वाचित भइ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालले उनलाई वरिष्ठ उपाध्यक्ष बनाएका थिए ।