हेटौंडा/बाराको बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई पाँच वर्षीय मेलाको अवसरमा वीरगञ्ज कपडा बैंकले निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । बारा कुर्मी सेवा समितिको पण्डालमा आयोजित कार्यक्रममा चार हजार थान कपडा वितरण गरिएको छ ।
वीरगञ्ज कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार उक्त कार्यक्रम कपडा बैंक अध्यक्ष लालबाबु सिंहको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोषाध्यक्ष मनोज मिश्राले विशेष जानकारी दिएका थिए । यस कार्यक्रमले मेलामा सहभागी भएका विपन्न र आवश्यकता भएका व्यक्तिलाई सहयोग पुर्याएको कपडा बैंकले जनाएको छ ।
दाताहरु, सञ्चारकर्मी, शुभेच्छुक र पदाधिकारीको सक्रियतामा कार्यक्रम सफल भएको कपडा बैंकले उल्लेख गरेको छ । गढीमाई मेलाको सामाजिक महत्वलाई थप उजागर गर्ने उद्धेश्यले कपडा वितरण कार्यक्रमले सबैको प्रशंसा पाएको छ ।