Homeमकवानपुर विशेषहेटौँडारक्सी छुटाउने बहानामा बढ्यो कोल्डड्रिंक्स

रक्सी छुटाउने बहानामा बढ्यो कोल्डड्रिंक्स

हेटौंडा/राक्सिराङ गाउँपालिकामा ड्यु, कोकजस्ता चिसो पेयपदार्थका अधिक प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पारेको स्थानीयले बताएका छन् । राक्सिराङ-५, चैनपुरस्थित गाउँपालिकाको सभाहलमा टुकी फाउन्डेसनले आयोजना गरेको सूक्ष्म अनुसन्धानको समिक्षा कार्यक्रममा उनीहरुले ड्यु र कोकको प्रयोग निकै घातक भएको बताएका हुन् ।

‘खाँदा एकदम मिठो हुने तर प्रेसर र सुगर बढेर खप्नै नसक्ने गरी बढाउँदो रहेछ,’ राक्सिराङ-५ निवासी कान्छीमाया प्रजा (चेपाङ) ले भनिन् । कार्यक्रममा सहभागी सुना प्रजा (चेपाङ) ले पनि गाउँभरि ड्यु, कोकको अधिक प्रयोगका कारण टाइफाइड, जन्डिस, रुघाखोकीका बिरामीलाई थप संक्रमणमा बढाएर जटिल बनाइरहेको बताइन् ।

‘सामान्य संक्रमणमाथि जंकफुड र कोल्डड्रिंक्सहरु पिउँदा समयमै उपचार, जाँच र रोकथाम नहुँदा किड्नी फेल भइरहेको घटनाहरु गाउँघरमा देखेका छौं,’ सुनाले भनिन् । हरेक पसलहरुमा निस्फिक्रीरुपमा ड्यु, कोक, फ्यान्टा, स्प्राइटसहित प्याकेजिङ गरिएका खाद्यबस्तुहरु पाइने उल्लेख गर्दै हाल विवाह, गासा, मलामी तथा किरियाहरुमा समेत चियो पेयपदार्थ प्रयोग देखिएको टुकी फाउन्डेसनले जनाएको छ । फाउण्डेसनले केही महिलाहरुलाई केन्द्रित गरेर गरेको सर्वेक्षणका क्रममा गाउँघरमा ड्यु, कोक खान नपाए मेलापर्ममा समेत खेतालाहरु नआउने अबस्था आएको बताएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नगर प्रहरी परिचालन गरी जंकफुड निषेध अभियानलाई अघि बढाउने बनाए । उनले यसअघि नै गाउँपालिकाको कार्यपालिका बैठकले कोल्डड्रिंक्स प्रयोग निषेधबारे निणर्य गरिसकेको स्मरण गराउँदै यसको कार्यान्वयन प्रभावकारी बनाउने बताए । गाउँपालिका उपाध्यक्ष बनस्तम् थिङले अब कोक र ड्यु नियन्त्रणका लागि हरेक चर्चका पास्टरहरु, गुम्बाका लामाहरु र मन्दिरका पुजारीहरुलाई अभिमुखीकरण गर्नुपर्ने सुनाए । रक्सी खाने लत छुटाउने बहानामा कोल्डड्रिंक्स खुवाउने क्रम व्यापक बढेको उनको भनाइ छ । परम्परागत् मौलिक खानेकुराहरुको प्रवद्र्धन गर्न सके बजारबाट आयातित जंकफुड र कोल्डड्रिंक्सहरु निमिट्यान्न पार्न सकिने कार्यक्रममा सहभागीले धारणा राखेका थिए ।

वडा अध्यक्ष हरिबहादुर प्रजाले पनि धारणा राखेको कार्यक्रममा टुकी फाउन्डेसनका तर्फबाट सर्वेक्षणकर्ता प्रमिता ढुंगानाले सर्वेक्षण प्रक्रिया र घटनाक्रमबारे प्रस्तुति दिए भने कार्यकारी निर्देशक शीलासिं ठकुरीले सञ्चालन गरेकी थिइन् । कल्पना प्रजाले स्वागत गरेको कार्यक्रमको सभाध्यक्षता टुकी फाउन्डेसन सचिव बिना खालिङराईले गरेकी थिइन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here