हेटौंडा/नेपाली कांग्रेसले कैलाश गाउँपालिकाको ४ वटा वडाको पार्टीका क्रियाशील सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश-६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश-६ को पकनीमा शनिबार कैलाश १, २, ५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
कांग्रेस कैलाश-६ का वडा सभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, वागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरुको परिचय, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, कांग्रेसको सदस्यता, आचरण, व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको थियोे ।
प्रशिक्षणमा प्रमुख अतिथि बानियाँले जनप्रतिनिधि पार्टी र जनताको प्रतिनिधि भएकाले व्यक्तिगत् स्वार्थभन्दा माथि उठेर निस्वार्थरुपमा काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधि निर्वाचित गराउनका लागि पार्टीका हजारौं कार्यकर्ताले पसिना बगाएको कुरा पदमा रहेकाले भुल्न नहुने बताए । नेता बानियाँले जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरी काम गर्दा जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बिग्रिँदा पार्टीको संगठन विस्तारमा समस्या हुने भएकाले जनप्रतिनिधि र पार्टीबीच समन्वय र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा-२ का संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधि रत्नबहादुर गोले, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, कोषाध्यक्ष एञ्जिला भ्लोन, दलित संघ केन्द्रीय सदस्य गौरव बिक, प्रदेश प्रतिनिधि बेलबहादुर मोक्तान, क्षेत्रीय प्रतिनिधि तेजबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ वडाका कांग्रेस पार्टी प्रतिनिधि तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि गरी एक सय ५० भन्दा बढीको सहभागिता रहेको प्रशिक्षणमा विभिन्न पार्टी परित्याग गरी ४० जना कांग्रेस प्रवेश गरेका थिए ।