हेटौंडा/हेटौंडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएको छ । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससमेत गरेको छ ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति गठन गरेको थियो । समितिले सात करोड बराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।
हेटौंडाको जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेखअनुसार सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही अघि बढाएको महाशाखा प्रमुख झाले बताए ।