31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गरिँर्दै

प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गरिँर्दै

हेटौंडा/सामाजिक संस्था ‘योगदान राष्ट्रको लागि’ ले ३ दिने प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गर्ने भएको छ । संस्थाले आगामी पुस १७, १८ र १९ गते ३ दिनसम्म तालिम सञ्चालन गर्ने संस्था अध्यक्ष एवम् प्राथमिक उपचारसम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले बताए ।

तालिममा देशभरका करिब २ सय जनाको सहभागिता रहने उनले बताए । उनका अनुसार यसअघि प्राथमिक उपचारसम्बन्धि तालिम लिएका वा तालिम लिन इच्छुकहरु तालिममा सहभागी हुन सक्नेछन् । तालिम प्रदान गरेर प्रशिक्षक उत्पादन गर्ने लक्ष्यसाथ तालिम सञ्चालन गर्न लागिएको उप्रेतीले बताए ।

तालिम काठमाडौंको चाबहिलमा सञ्चालन हुनेछ । ‘प्राथमिक उपचार, हाम्रो सरोकार’ भन्ने नारासाथ अघि बढेको संस्थाले प्राथमिक उपचारसम्बन्धि जनचेतना, प्रशिक्षण, तालिम सञ्चालन गर्दै आएको छ । २०७७ सालमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य हेतु र उद्धेश्यसाथ स्थापना गरिएको केन्द्रीय सदस्य एवम् प्रवक्ता हिरण्यराज उप्रेतीले बताए ।

उनका अनुसार योगदान राष्ट्रका लागि लामो समयदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका ओमप्रसाद उप्रेतीले ल्याएको धारणा हो । उप्रेती युएईमा विशेषगरि विभिन्न खालका दुर्घटना, चोटपटक, बिरामीलगायतको प्राथमिक उपचार क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले युएईमा सिकेको ज्ञान र सिपलाई नेपालभर फैलाउने र यसमार्फत् समाज अनि राष्ट्रसेवा गर्ने उद्धेश्यसाथ नेपालका अधिकांश स्थानहरुमा चरणचरणमा प्राथमिक उपचारसम्बद्ध अभियान र कार्यक्रमहरु सञ्चालन गरिसकेका छन् । योगदान राष्ट्रका लागि संस्थाले ७७ वटै जिल्लामा आफ्नो समाजसेवाको सञ्जाल विस्तार गरिसकेको छ । हाल अधिकांश जिल्लामा जिल्लास्तरीय समूह गठन भइसकेका छन् ।

विशेष गरेर बेहोस भएको, छारेरोग, अंगभंग भएको, घाँटीमा अड्केको, करेण्ट लागे, सर्पको टोकाइ, रक्तस्राव, आगोले पोलेको, विषसेवन गरेको, हृदयघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपत्तिलगायत अन्य जोखिममा तत्काल उपचार गर्न सकिने विषय र अपनाउनुपर्ने प्राथमिक उपचारसम्बन्धि ज्ञानलाई देशव्यापी अभियानका रुपमा संस्थाले सक्रिय भएर नागरिक र समाजसेवा गर्ने ध्येय लिएको छ ।

संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला/जिल्लामा समिति गठन गरी सक्रिय र जागरुक समूह अगाडि बढाएको छ । हाल २ हजार बढी युवा योगदान राष्ट्रका लागि संस्थामा जोडिएका छन् । युवा समिति र सञ्जालमार्फत् हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पुर्‍याउने लक्ष्य संस्थाको छ । संस्थाले हरेक तहमा स्वयम्सेवक दस्ता खडा गरी राज्यलाई परेको आपत्कालीन अवस्थामा सहयोग गर्ने तथा संस्थाद्वारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड संक्रमणको समयमा जन्मिएको संस्थाले कारोना कहरमा अझ प्राथमिक उपचारको महत्व र आवश्यकतालाई बुझेर संस्थाको उदय भएको हो । विगतको लकडाउन र यसले पारेको समस्याका बेला नागरिक घरमा रहँदा झन् मानसिक समस्यादेखि अन्य भौतिक समस्याले समेत बढेको दैनिक गुजारा चलाउन समस्या भएकै कारण विभिन्न घटना घट्न पुगेको सरकारकै विभिन्न रेकर्डले देखाएको छ ।

तसर्थ, प्राथमिक उपचारको ज्ञान र यसको उपयोग तथा उपभोग र कार्यान्वयनले धेरै नेपालीलाई जोगाउन सकिनेछ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका अवस्थामा सचेतनासँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारहरुलाई राहत वितरण, मास्क र सेनिटाइजर प्रयोग, भौतिक दुरी कायम, रक्तदान शिविर तथा कोरोनाको समयमा फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको हौसला बढाउने कार्यमा समेत सक्रिय रहेको संस्थाले बर्खाको समयमा बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले बिचल्लीमा परेका नागरिकहरुलाई पनि सहयोग गर्न अग्रसर भयो । बाढीपहिरो, आगजनी जस्ता विपत्तिमा अग्रसर हुने प्रण संस्थाको छ । छोटो समयमा प्रभावशाली समाजसेवा कर्ममा संस्थाले आफूलाई सशक्तरुपमा उभ्याउन सफल भएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here