हेटौंडा/पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा मंसिर २७ गतेदेखि हेटौंडामा १५ वर्षमुनिका पुरुष खेलाडीको फुटबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासाथ यु-१५ एट ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
हेटौंडा-५ वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपियाँ प्राप्त गर्नेछन् भने विधागत् उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक पिप्ले युवा क्लब अध्यक्ष सुबिन घिमिरेले जानकारी दिए । ‘खुला फुटबल प्रतियोगिता धमाधम भइरहेको छ । खेलाडी उत्पादनमा सघाउ पुर्याउने उद्धेश्यसाथ १५ वर्षमुनिका खेलाडीहरुको प्रतियोगिता आयोजना गरेका हौं,’ अध्यक्ष घिमिरेले भने-२०६६ सालदेखि यता जन्मिएकाहरुले मात्र खेल्न पाउनेछन् । आयोजकले टिम दर्ता शुल्क ४ हजार रुपियाँ तोकेको छ ।