हेटौंडा/हेटौंडा-८ स्थित कमानेमा दलित भनी मन्दिर प्रवेशमा रोक लगाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार उजुरीपश्चात् वडाध्यक्ष र जनप्रतिनिधिबीच मिलापत्र भइ सहमति भएको छ । यस विषयमा सबै कुराको टुंगो लगाइ मेलमिलाप भएको उनले बताए ।
स्थानीय मनकामना मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पूजा गर्न रोक लगाएका थिए । घटनाको विरोध गर्दै नेपाल दलित मुक्तिमोर्चा मकवानपुरले विज्ञप्ति जारी गर्दै हेटौंडामा भएको जातीय विभेदको भत्सर्ना गरेको छ ।
मोर्चा जिल्ला संयोजक जमिन दियाली र जिल्ला इञ्चार्ज कमला बिश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-मगराती र
रोक्कालाई मन्दिरमा पुजा गर्न जाँदा मन्दिरका पुजारी काफ्ले र पौडेलले दलित भन्दै पुजा गर्न रोक लगाएकोप्रति संगठनको गम्भीर आपत्ति छ । घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई मुलुकी अपराधसंहिता २०७४ र जातीय छुवाछुत कसुर सजाय ऐन, २०६८ बमोजिम कडा कारबाहीको माग गर्दै धर्मस्थानमा समान अधिकार र पहुँच सुनिश्चितताको माग विज्ञप्तिमा गरिएको छ । मोर्चाले दलित समुदायको साथमा उभिएर घटनाको न्यायीक छानवीन र जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दै अन्यथा चरणवद्ध आन्दोलनमा उत्रने जानकारी गराउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको संविधानको धारा २४ ले जातीय छुवाछुत निषेध गरेको भए पनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम यथावत् छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेद्भाव तथा छुवाछुत गरिँदैन भन्ने उल्लेख गरिए पनि केही दिनअघि दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि विरोध भएको हो ।









