हेटौंडा/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को वडाध्यक्ष विजयी भएका नेपाली कांग्रेसतर्फका उम्मेद्वार अर्जुनप्रसाद तिवारीले सपथग्रहण गरेका छन् । सोमबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले नवनिर्वाचित वडाध्यक्ष तिवारीलाई सपथग्रहण गराएकी हुन् ।
सपथग्रहणपछि अध्यक्ष तिवारीले वडाबासीको हितका लागि सदैंव काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूलाई विजयी गराउने वडाबासी मतदाताहरुलाई धन्यबाद व्यक्त गर्दै अमूल्य मतको कदर गर्दै जनताको सेवामा काम गर्ने बताए । सपथग्रहण कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई, नगर उपप्रमुख राजेश बानियाँ, निर्वाचन अधिकृत हरि ढकाललगायत वडा अध्यक्षहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष तिवारीले नेकपा माओबादी केन्द्रका रविकुमार प्रधानलाई ५ सय ३ मतको अन्तरमा पराजित गर्दै २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका थिए । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका नेकपा माओबादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि उक्त वडामा अध्यक्ष पद रिक्त थियो ।