27.9 C
Makwānpur

बकैया खेलग्राम

हेटौंडा/वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्बर-५, कर्मचुलीस्थित बकैया खेलग्राम उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जनएकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार उद्घाटन गरिएको हो ।

सो अवसरमा मन्त्री महर्जनले प्रदेश सरकार खेलकुदमैत्री रहेको दाबी गर्दै आफू पनि खेलकुद क्षेत्रबाट आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ । मैले मेरो जीवन खेलकुदमै बिताएकाले म यसको सम्भावना, समस्या र चुनौतीबारे जानकार छु,’ मन्त्री महर्जनले भने-मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । प्रदेशको खेलक्षेत्र विकासमा योजनाबद्ध कार्य गर्नेछु ।

उनले प्रदेशका सांसद् इन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिका पूर्वअध्यक्ष दामोदर खनालले आफूलाई खेलग्रामको विषयमा पहिले नै जानकारी गराइसकेको स्मरण गर्दै प्रदेश सरकारका तर्फबाट खेलग्राम विकासका लागि सक्दो सहयोग गर्ने बताए । खेलक्षेत्रमा युवा आकर्षण बढाउँदै खेलेर परिवार धान्नसक्ने अवस्था निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

बकैया गाउँपालिका पूर्वअध्यक्ष खनाल र हालका उपाध्यक्ष भक्तबहादुर खत्रीले बकैया खेलग्रामलाई नमुना खेलग्रामका रुपमा विकास गरेर बकैयालाई खेलकुदमैत्री गाउँपालिका बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा बकैया खेलकुद विकास संयोजक विजय लामालगायत स्थानीय राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरुले खेलकुद क्षेत्रको प्रवद्र्धनको सवालमा धारणा राखेका थिए ।

२०७६ सालबाट युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाले वर्षेनी उक्त खेलग्रामका लागि बजेट विनियोजन गर्दै आएका छन् । हालसम्म १ करोड ५१ लाख खर्चेर फुटबल रंगशाला, प्याराफिट, व्यवस्थित शौचालय, टिकट काउन्टर तथा सुरक्षाकक्ष निर्माण गरिनुका साथै ५२ कठ्ठा क्षेत्रफलमा सिमेन्टेड वाल निर्माण गरिएको क्लब अध्यक्ष कृष्ण घतानेले जानकारी दिए । खेलग्राम उद्घाटनकै अवसरमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । ७ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुर, बारा र सर्लाहीका ८ वटा समूह सहभागी छन् । प्रतियोगिता विजेता समूहले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५ हजार ५ सय ५५ नगदसहित शिल्ड र मेडल प्राप्त गर्ने घतानेले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here