हेटौंडा/हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिनगोल्ड इन्टरनेशनल प्रालि र बानियाँ मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।
विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटकपटक पत्राचार गरिए पनि सम्पर्कमा आउन नचाहेकाले कारबाही प्रक्रिया अघि बढाइएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख संगीता कुँवरले बताइन् । ‘हामीले सञ्चालकलाई निरन्तर फोन र पत्रचार गरी बोलाइरहेका छौं,’ प्रमुख कँुवरले भनिन्-तर, तीमध्ये नेपाल ब्रुअरीका सञ्चालक सम्पर्कमा आउनुभएको छैन, ग्रिनगोल्ड र बानियाँ मल्टी प्रोडक्टका सञ्चालक केही समय सम्पर्क आएर ‘उद्योग चलाउँछु’ भनेर जानुभएको थियो । त्यसपछि उहाँहरु पनि सम्पर्कमा आउनुभएन ।
उद्योगका लागि जग्गा ओगटेर राख्ने तर उद्योग नचलाउने गरेकाले कारबाही प्रक्रिया अघि बढाएको प्रमुख कुँवरको भनाइ छ ।
कारबाहीस्वरुप नेपाल ब्रुअरी प्रालिको विद्युत् लाइन काटिएको र अन्य कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् । ग्रिनगोल्ड र बानियाँ मल्टी प्रोडक्ट उद्योगमा जडान गरिएको विद्युत् र खानेपानी लाइन काट्ने तयारी भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयसँग सम्झौता गरेर पनि लामो समयदेखि उद्योग सञ्चालन नगर्ने पाँच उद्योगको सम्झौता खारेज गरिएको छ ।
अमेरिकाको आर्थिक सहयोगमा २०२० मा स्थापना भएको औद्योगिक क्षेत्रभित्र हाल एक सय ४४ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिइ उद्योग सञ्चालन गरिरहेका छन् । कुल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रभित्र हाल १२ उद्योग निर्माणाधीन अवस्थामा छन् । कुल क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडकसञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्रका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वार्टर भवन र जग्गाको भाडा लिँदै आएको छ । मुलुककै ठूलो औद्योगिक क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ । औद्योगिक क्षेत्रको चारैतिर पर्खाल लगाउन नसक्दा सुरक्षा चुनौती बढेको कार्यालय प्रमुख कुँवरले बताइन् । औद्योगिक क्षेत्रबीचबाट सार्वजनिक बाटो भएकाले सुरक्षा चुनौती बढेको उनको भनाइ छ । ‘हामीले पर्खाल लगाउन पटकपटक प्रयास गर्यौं । तर, स्थानीयले अवरोध गर्दै आएका छन्,’ प्रमुख कुँवरले
भनिन् ।