हेटौंडा/वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पाल्पाको पूर्वखोला गाउँपालिका-३ स्थित उद्बुद्ध माविले सम्मान गरेको छ । बाल्यकालमा सोही विद्यालय पढेका उनलाई वागमती प्रदेश प्रमुख भएपछि सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर थापाले बताए ।
विद्यालयको ७४ औं वार्षिकोत्सव समारोहमा शनिबार प्रमुख अतिथि देवकोटाले आफू जन्मेको र हुर्केको माटोमा पुग्दा बाल्यकालको स्मृति ताजा भएको बताए । ‘पाल्पाको शैक्षिक जगत्को धरोहर उद्बुद्व माविले नै मलाई आजको स्थानमा पुर्याउन भूमिका खेलेको हो,’ प्रदेश प्रमुख देवकोटाले भने-एक दिन एक जुगमा एकपटक मात्र आउँछ भनेझैं यो सद्भाव मेरो जीवनको उत्कृष्ट क्षणभित्र पर्दछ ।
पाल्पाको साबिक देवीनगर-२ हाल पूर्वखोला वडा-४, लेम्धेममा जन्एिका देवकोटा प्रारम्भिक शिक्षा हासिल गर्दै त्यहाँको पाखाबारिमा हुर्कंदै शुरुमा बेसर्घा र लेम्धेममा रहेको रम्भादेवी प्राविमा शिक्षण पेशामा समेत रहे । ‘मान्छे भौतिकरुपमा कहाँ छ भन्नुभन्दा उसको आत्मामा के कुराले जरो गाडेको छ भन्ने कुरा महत्वपूणर् हुन्छ,’ प्रमुख देवकोटाले भने-मलाई जन्म, सुसँस्कार, गृहस्थ र जागीरे जीवनमा प्रवेश गराउने पाल्पाको माटो मेरा लागि यो धर्तीका मूल्यवान धातु सुन र हीराभन्दा कमी छैन ।
आफू भौतिकरुपले पाल्पाको माटो भन्दा टाढा रहे पनि शरीरको रक्त नलीमा पाल्पाको मीठो सम्झनाको तिनाउ र कालीगण्डकी बगेको उनले बताए । ‘मेरा पितामाता, पुर्खा, नातेदार, छिमेकी, गुरुवर्ग, साथीसंगीलगायत सम्पूणर्मा नमन गर्दछु,’ उनले भने-म हुर्केको मगर समुदाय र दौंतरीहरुलाई बिर्सेको छैन र बिर्सिन पनि सक्दिनँ ।
उद्बुद्व माविका विद्यार्थीहरुलाई विद्यालय उमेरमा नै धेरै भन्दाधेरै मेहनत गर्न उनले प्रेरित गरे । ‘तपाइँहरु जीवनको ऊर्जाशील उमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन । संसार मेहनतीहरुको हो,’ प्रमुख देवकोटाले भने-तपाईंहरुसँग सपना हुनुपर्छ, जुन सपनाले तपाईंको निद्रा हराओस्, यति पढ्नुस् कि अभिभावकले अब तँ सुत् भो नानीबाबु भन्नुपरोस् ।
उनले विद्यार्थीहरुलाई जहाँ भए पनि सँस्कारी बन्न आग्रह गर्दै भने-सँस्कारबिनाको शिक्षा बिंडबिनाको खुर्पाजस्तै हुन्छ । हरेक आमाबाबुले आफ्नो भन्दा सुःखद् जीवन छोराछोरीको होस् भन्ने चाहन्छन् । अभिभावकको सपना तुहाउने छुट तपाईं विद्यार्थीलाई छैन । मेहनत गर्दागर्दै कहिलेकाँही असफल हुनु नौलो होइन । तर, मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो ।
प्रदेश प्रमुख देवकोटाले पाल्पाली अभिभावकलाई पनि सुझाव दिए । घर, बालबालिकाको पहिलो पाठशाला भएको उल्लेख गर्दै उनले भने-हालका नानीबाबुहरु भिन्न समयमा जन्मेका छन्, हाम्रा थुप्रै अनुभव उनीहरुलाई अर्थ नलाग्लान् । जे भए पनि सँस्कार र श्रमको मूल्य नानुबाबुलाई बुझाउनुपर्छ । विद्यालयका प्रधानाध्यापक, शिक्षकवर्ग, व्यवस्थापन समिति, समाज अब्बल दर्जाको पाएँ । विद्यालयले किताबी ज्ञानलाई मात्र जोड नदिएर कला, सँस्कृति, कौशल, श्रमको सम्मान तथा नानीबाबुको सर्वांगीण विकासमा जोड दिएको छ, जुन अति प्रशंसनीय भएको उनले बताए ।
‘संसारका हरेक पत्थर मूर्ति बन्न लायक छन् । तर, ती पत्थरहरु असल कालिगढको हातमा पर्नुपर्छ,’ उनले शिक्षक तथा विव्यसप्रति लक्षित गर्दै भने-तपाईं सम्पूणर् समुदायलाई आफ्नो कालिगढी सिपमा अझै पोख्त हुने हौसला दिँदै नानीबाबुहरुबाट अझै मेहनतको अपेक्षा राख्दै अघि बढाउनुहोस् ।
२००७ सालमा स्थापित विद्यार्थीमा हाल ५ सय ५३ विद्यार्थी अध्ययनरत् छन् भने ४७ शिक्षक/कर्मचारी रहेको विद्यालयका शिक्षक शंकर न्यौपानेले जानकारी दिए । वार्षिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्बर न्यौपानेले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।