हेटौंडा/नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाईंमा पुर्याउने उद्धेश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्साशास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच समझदारी भएको छ ।
सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडाक्टर दिव्यासिंह शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता अवधि ५ वर्ष हुनेछ । जसअन्तर्गत् प्रतिष्ठान र संस्थानले संयुक्तरुपमा क्लिनिकल सेवा, चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । यसले चिकित्सा सेवाको गुणस्तर वृद्धि गर्नुका साथै देशमा विशेषज्ञ सेवाको पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ । सम्झौताले विशेषतः हेटौंडा अस्पतालमा मुटुरोग, मिर्गौला रोग, जनरल सर्जरी, महिला तथा बाल रोगजस्ता विभिन्न विशेषज्ञ सेवा अझ प्रभावकारीरुपमा उपलब्ध गराउन मद्धत गर्नेछ । शिक्षण अस्पतालका रुपमा सेवा विस्तार गरी विद्यार्थीका लागि उच्चस्तरीय शिक्षण र अनुसन्धानका अवसर सिर्जना गरिनेछ ।
सम्झौता समारोहमा उपकुलपति डा. ज्ञवालीले सहकार्यले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका साथै नेपालका स्वास्थ्य सेवाका क्षेत्रमा नवीनतम् अभ्यास र प्रविधि भित्र्याउन महत्वपूणर् भूमिका खेल्ने बताए । उनले थपे- सम्झौता केवल स्वास्थ्य सेवा र शिक्षाक्षेत्रको विकासमात्र नभइ देशभरिका नागरिकलाई अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्ने दिशामा टेवा पुर्याउनेछ ।
डिन प्राडा शाहले सहकार्यले अनुसन्धानलाई प्रोत्साहन दिने र नेपालका युवा चिकित्सकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण प्रदान गर्ने वातावरण निर्माण गर्नेमा जोड दिइन् । उनले चिकित्साक्षेत्रका शैक्षिक गतिविधिलाई अझ सुदृढ बनाउनका लागि सम्झौता ‘मिलको पत्थर’ साबित हुने विश्वास व्यक्त गरिन् ।
सम्झौताको सहकार्यले स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा एक नवीन दृष्टिकोण प्रस्तुत गरेको छ । पाँच वर्ष अवधिमा यसले स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्न र ग्रामीण तथा शहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुर्याउनेछ । साझेदारीबाट नेपालको चिकित्साक्षेत्रलाई विश्वस्तरीय मान्यता दिलाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।