हेटौंडा/वागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले बालविकास केन्द्रको स्तरोन्नतिका लागि प्रस्ताव माग गरेको छ । स्थानीय तहसँगको सहकार्यमा बालविकास केन्द्रको स्तरोन्नतिका लागि कार्यविधि बनाएर प्रदेश सरकार अघि बढेको छ ।
प्रदेशका १३ जिल्लाका ३० बालविकास केन्द्रलाई प्रदेशको शिक्षा विकास निर्देशनालयले स्तरोन्नति गर्ने भएको छ । गत वर्ष चितवनका पाँच वटा विद्यालयले बालविकास केन्द्रको स्तरोन्नतिका लागि बजेट पाएका थिए । यस वर्ष पनि प्रदेश सरकारले प्रस्ताव माग गरेपछि चितवनका विद्यालयहरुले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
यस वर्ष पनि निर्देशनालयले बालविकास केन्द्रको स्तरोन्नतिका लागि प्रस्ताव माग गरेको यसको समय मंसिर २३ सम्म रहेको निर्देशनालय प्रमुख दीपेन्द्र सुबेदीले बताए । उनका अनुसार यस वर्ष पनि प्रदेशका ३० विद्यालयको बालविकास केन्द्रको स्तरोन्नति गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक जिल्लामा बालविकास केन्द्रको स्तरोन्नति गरिने निर्देशनालयले जनाएको छ । कार्यविधिभित्र परेर प्रस्ताव पेस गर्ने माविले बालविकास केन्द्र (ईसीडी) को स्तरोन्नति गर्ने अवसर पाउँछन् ।
हाल सञ्चालन भइरहेका बालविकास केन्द्रहरु बालमैत्री छैनन् । बालविकास केन्द्रमा हुनुपर्ने सुबिधाहरु पनि छैनन् । बालविकास केन्द्र भनिए पनि यो अन्य सामुदायिक विद्यालयजस्तै सञ्चालन भइरहेका छन् । यसका लागि प्रदेशले बालविकास केन्द्रको स्तरोन्नतिका लागि कम्तिमा अनुदान पाँच लाख रुपियाँ बजेट उपलब्ध गराउने छ । उक्त बजेटबाट विद्यालयले बालविकास केन्द्रको स्तरोन्नति गर्नुपर्ने छ । धेरैजसो सामुदायिक बालविकास केन्द्रमा साना नानीहरु रमाउने खालको पूर्वाधार र शैक्षिक सामग्रीको अभाव छ ।
मंसिर २३ गतेसम्म वागमती प्रदेशका जुनसुकै विद्यालयले प्रस्ताव हाल्न सक्ने निर्देशनालयले जनाएको छ । मंसिर २३ गतेसम्म प्रस्ताव पेस गर्न निर्देशनालयले विद्यालयहरुमा सूचना दिएको छ । छनौटमा परेका विद्यालयहरुले स्तरोन्नतिका लागि पाउने पाँच लाख रुपियाँ निश्चित क्षेत्रमा लगाउनुपर्ने छ ।
कार्यविधिअनुसार ईसीडी कक्षामा २० जना बालबालिका कम्तिमा हुनुपर्ने छ । छुट्टै भवन, छुट्टै कक्षाकोठा हुनुपर्ने छ । स्थानीय तहले गरेको प्रतिबद्धतासहित सिफारिसपत्र हुनुपर्ने छ । यस्ता मापदण्ड पुगेका विद्यालयले ईसीडी कक्षाको स्तरोन्नतिका लागि प्रस्ताव पेस गर्न सक्ने निर्देशनालयको भनाइ छ ।