हेटौंडा/मकवानपुरका हेटौंडा अस्पताल, मनहरी आधारभुत अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभुत अस्पताल, राक्सिराङ आधारभुत र सीएमसी चुरेहिल अस्पताल प्रालि हेटौंडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।
मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाका सम्पूणर् स्थानीय तहका वडामा सहजकर्तामार्फत् प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाका आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा वागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् ।
उक्त तथ्यांक २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुर प्रमुख नरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सबभन्दा बढी चितवनमा ७२ प्रतिशत् परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबभन्दा कम काठमाडौंमा छ प्रतिशत् परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बीमित हुँदा काठमाडौंमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवारमात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।
भक्तपुरको ६६ हजार ९ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्यांक छ । काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा ९ हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए । कार्यालयमा बिमादर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ ।