हेटौंडा/नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरको आयोजनामा बुधबारदेखि हेटौंडामा टी-१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । हेटौंडा-४, हुप्रमा शुरु प्रतियोगितामा बुधबार ४ खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा टिम बेलफोर्जलाई ८२ रनले हराउँदै नेपाल स्टारर्सले विजयी सुरुवात गरेको छ । १ सय २७ रनको लक्ष्य पच्छ्याएको बेलफोर्जले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ४४ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल स्टारर्सले निर्धारित १० ओभरमा ५ विकेट क्षतिमा १ सय २६ रन बनाएको थियो । खेलमा म्यान अफ दी म्याच नेपाल स्टारका विवेक सहनी घोषित भए । उनले ८ छक्का र १ चौकाको मद्धतमा १९ बलको सामना गर्दै ५५ रन बनाएका थिए ।
दोस्रो खेलमा जीएस निकेतन ८ विकेटले विजयी भएको छ । रोयल टाइगर्सले दिएको ६८ रनको विजयी लक्ष्य जीएसले ८ दशमलव ५ ओभर खेल्दै २ विकेट क्षतिमा भेट्टायो । टस जितेर पहिले ब्याटिङले रोयलले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । खेलको म्यान अफ दी म्याच जीएसका श्रीजन अधिकारी घोषित भए ।
बुधबारको तेस्रो खेलमा पठान ९ विकेटले विजयी भएको छ । मकवानपुरगढीले दिएको ३५ रनको सामान्य लक्ष्य पठानले २ दशमलव ३ ओभर खेल्दै १ विकेट क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गढीले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ३४ रन बनाएको थियो । खेलको म्यान अफ दी म्याच पठानका राहुल यादब घोषित भए ।
चौथो तथा अन्तिम खेलमा पठान स्टाइकर्स ४३ रनले विजयी भएको छ । पठान स्टाइकर्सले दिएको १ सय ९ रनको लक्ष्य पच्छ्याएको आधुनिक राष्ट्रिय माविले निर्धारित १० ओभर खेल्दै ५ विकेट क्षतिमा ६५ रनमात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको पठान स्टाइकर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । खेलको म्यान अफ दी म्याच पठान स्टाइकर्सका बीके सहनी घोषित भए ।
मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा वागमती प्रदेशका ७ र मधेश प्रदेशका ९ गरी १६ टिमको सहभागिता छ । प्रतियोगिता विजेताले एक लाख नगद र उपविजेताले नगद ५० हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त
गर्नेछन् ।