हेटौंडा/भुकम्पमा जोखिममा रहेको राक्सिराङ गाउँपालिका-७, गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालय भवन निर्माण कार्य सुरु भएको छ । भुकम्पको झण्डै एक दशकपछि नयाँ भवन बन्ने प्रक्रिया सुरु भएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरु खुशी भएका छन् ।
अब उनीहरुले भुकम्पले पनि ढाल्न नसक्ने नयाँ कक्षाकोठासहित भवन प्राप्त गर्नेछन् । राक्सिराङमा लामो समयदेखि क्रियाशील गैरसरकारी संस्था लिसा हिमालया ईभी जर्मनीको सहयोग तथा दीगो विकासका लागि एकता नेपालको सामाजिक सहजीकरणमा विद्यालय भवन निर्माण सुरु गरिएको हो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी थालिएको भवन निर्माण कार्यमा २ करोड १ लाख १७ हजार ६३ रुपियाँ खर्च हुने लिसा हिमालया ईभीका कन्ट्री डाइरेक्टर अञ्जनप्रसाद पौडेलले जानकारी दिए ।
सातकोठे भवन शिलान्याश गर्दै पूर्व गृहराज्यमन्त्री वागमती प्रदेशका सांसद् इन्द्रबहादुर बानियाँले लोकतन्त्रले नै गाउँगाउँमा विकासको लहर ल्याएको बताए । उनले यदि देशमा निरंकुशतन्त्र हुन्थ्यो भने शिक्षा, स्वास्थ्य, सडकजस्ता विकासका पूर्वाधारहरु जनताले देख्नै नपाउने अबस्था आउने भन्दै लोकतन्त्रलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकारको दरिलो सहयोगीका रुपमा साबिक काँकडा क्षेत्रमा लिसा हिमालया ईभीले काम गरिरहेकोमा प्रशंसा गरे । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङले शिक्षाको उज्यालोले मात्र समृद्ध राक्सिराङको कल्पना गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मनहरी सभापति प्रकाश बर्तौलासहितले शुभकामना मन्तव्य व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् विद्यालयका लागि जग्गादाता एकराज मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले गरेका थिए । लिसा हिमालया ईभी र दीगो विकासका लागि एकता नेपालको सहकार्यमा राक्सिराङ-७ कै धिराङमा समेत ११ कोठे नयाँ विद्यालय भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुने कन्ट्री डाइरेक्टर पौडेलले जानकारी दिए ।