हेटौंडा/मंसिर १२ देखि १५ गतेसम्म टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
हेटौंडा-४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा वागमती र मधेश प्रदेशका १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलका सहसंयोजक प्रमोद मानन्धरका अनुसार प्रत्येक टिममा १५ जना खेलाडी रहनेछन् र खेलहरु नकआउट प्रणालीमा हुनेछन् । ६ लाख लागतमा सञ्चालन हुने प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर, म्यान अफ दी म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठन वागमती प्रदेश अध्यक्ष समिम खानले प्रतियोगिताले इत्तेहाद समुदायका युवालाई कुलतबाट जोगाउन र समाजमा भ्रातृत्व सम्बन्ध कायम राख्न विशेष भूमिका निर्वाह गर्ने बताए । पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघ सचिव बिनोद बानियाँलगायत खेलाडीको सहभागिता थियो ।