हेटौंडा/मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले हेटौंडा-१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालय प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङलाई पक्राउ गरिएको हो । थिङले युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागेका थिए । भारतबाट विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको प्रमुख मिश्रले बताए ।्
मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उनले बताए । थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत् प्रहरी लाई खबर गरेका थिए । उनका अनुसार थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत चितवनबाट चार दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको र युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको छ ।