Homeमकवानपुर विशेषहेटौँडागति लिँदै गौरीटार

गति लिँदै गौरीटार

हेटौंडा/हेटौंडा-६, गौरीटार रंगशालापरिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायत पूर्वाधार निर्माणले गति लिएको छ ।

वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले निर्माणाधीन पूर्वाधारको स्थलगत् निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य समयभित्र सम्पन्न गर्न निर्देशन दिँदै निर्माणका क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिनसमेत आग्रह गरे ।

उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनास“गै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको बताए । राज्यका निकायका कमीकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयदेखि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन । मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई पटकपटक ताकेता गरेपछि निर्माणको कामले गति लिएको
हो ।

हाल फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र चा“डै निर्माण कार्यले पूणर्ता पाउने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । अन्य संरचना निर्माण कार्यले पनि तीव्रता पाएको उनले बताए । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि ९ करोड विनियोजन गरेर निर्माण थालेको थियो ।

रंगशालामा पहिलो चरणमा ६ सय बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेञ्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।

केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुद संरचना निर्माण थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म रंगशाला निर्माणले गति लिन सकेको थिएन । २८ जेठ २०६४ मा तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपालले रंगशाला शिलान्यास गरेका थिए । देश संघीय संरचनामा गएसँगै प्रदेश सरकारअन्तर्गत् उक्त आयोजनामा क्रमगत् बजेट विनियोजन गरिँदै आएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here