Homeमकवानपुर विशेषहेटौँडाअतिक्रमित जग्गाका संरचना भत्काइने

अतिक्रमित जग्गाका संरचना भत्काइने

हेटौंडा/मनहरी गाउँपालिका-७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने राष्ट्रिय रोटरी माध्यमिक विद्यालयदेखि निर्मल बस्तीसम्मका अतिक्रमित जग्गामा बनेका संरचनाहरु भत्काइने भएको छ ।

वन समूहले मंसिर ५ गते आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीहरुले यस्तो निणर्य गरेका हुन् । छलफलमा मनकामना सामुदायिक वन उपभोक्ता समूहका वन समूहका पदाधिकारीहरु, ७ नम्बर वडाका जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय राप्ती, सवडिभिजन वन कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय मनहरी, सशस्त्र प्रहरी आईआरटी पोष्ट लच्का, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता थियो ।

सर्वपक्षीय अनुगमन टोली अतिक्रमित क्षेत्रमा अवलोकनमा पुग्दा दैनिकरुपमा निर्मलबस्तीको उत्तरतर्फको बाटो मिचेर जंगलतिर सारिएको, बाटोभन्दा माथिको भूभागमा गोठ, कुखुराका खोर तथा मान्छे सुत्ने टहरासमेत बनाएको पाइएको थियो । सहभागीले तत्काल अतिक्रमित भूभाग वन क्षेत्रमै फिर्ता गरी सुन्दर पिकनिक पार्क बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङले अतिक्रमण रोक्नका लागि तत्काल उक्त बाटोमा कंक्रिट स्ल्याब ढलान कार्य अघि बढ्ने समेत बताए । वन समूह अध्यक्ष सुरेश मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरी प्रमुख लोकराज नेपाल, दामोदर पाण्डे, सवडिभिजन वन कार्यालय मनहरीका रुपककुमार ब्लोन, नेपाली कांग्रेस सभापति प्रकाश बर्तौला, नेकपा एमालेका गौतम लामासहितको सहभागिता थियो ।

राष्ट्रिय रोटरी मावि अध्यक्ष शालिकराम बानियाँ, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गणेशमान मानन्धर, मनकामना सनातन धर्म संरक्षण संस्था अध्यक्ष नारायण सुबेदी, समाजसेवी पदमबहादुर तितुङ, भुवनकुमार जोशीसहित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी आईआरटी पोष्ट, वनरक्षकहरु, टोलविकास संस्थाका अध्यक्षहरु तथा सरोकारवाला सहभागी थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here