हेटौंडा/हेटौडा सामुदायिक आँखा अस्पतालको सेवा प्रारम्भ भएको १७ औं वर्ष प्रवेश गरेको छ । २०६५ मंसिर ५ गते अष्ट्रेलियन राजदुत ग्राहम लेडले सामुदायिक आँखा अस्पताल उद्घाटन गरेका थिए ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाका रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । हेटांैडापश्चात् भक्तपुर र निजगढमा पनि अस्पताल शाखा स्थापना गरिएको छ । स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखाजाँच गरिसकेका छन् । ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ ।
बिभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर २२ हजारको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालमा आँखाजाँच, चस्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिँदै आएको छ । आँखा स्वास्थ्यसम्बन्धि जनचेतना प्रदान गर्न बिभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयम््सेविका, कारखानाका कामदारलगायत बिभिन्न समूहलाई तालिम र गोष्ठी आयोजना गरिँदै आएको छ । अस्पतालमा आइ आँखा उपचार सेवा लिन नसकेकाहरुलाई ग्रामीण क्षेत्रमा पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गरिँदै आएको छ ।
अस्पतालले थाहा नगरपालिका, मनहरी गाउँपालिका र वागमती गाँउपालिकासँग समन्वय गरेर सामुदायिक आँखा केन्द्र सञ्चालन गरेको छ । इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकासँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र पनि सञ्चालन गरेर त्यस भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकासँग पनि ग्रामीण आँखा केन्द्र स्थापनका लागि छलफल जारी छ । आगामी दिनमा नयाँ शल्यक्रिया भवन निर्माण गरी सेवा प्रदान गर्नुका साथै न्यूनदृष्टि भएका बालबालिकाहरुका लागि छुट्टै सेवा प्रदान गर्ने योजना छ ।