हेटौंडा/दोस्रो संस्करणको हेटौंडा रन-२०८१ को उपाधि हेटौंडा-१४ का धावक सञ्जीव मिजारले हात पारेका छन् । उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा-१५ का धावक निश्चल तितुङ दोस्रो भएका छन् । उनले २० मिनेट ४२ सेकेण्डमा दुरी पूरा गरे । निर्धारित दुरी २० मिनेट ५१ सेकेण्डमा पूरा गर्दै हेटौंडा-१८ का अभिषेक रोक्का तेस्रो भएका छन् । हेटौंडा-१८ का मनिष गोपाली चौथो र हेटौंडा-१४ का अमृत सुनार पाँचौं हुँदा हेटौंडा-१८ का रुबि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्साहन पुरस्कारबाट सम्मानित भए । दौडका विजेता, उपविजेता र तृतीयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् ।
प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दौड प्रतियोगितामा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा-१०, बुद्धचोकबाट दौड सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभुत विद्यालय, सूर्यचोक, नवोदय, सत्यम्चोक, थाहाचोक, शीतलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा दौड पूरा गरेका थिए ।
समापन समारोहमा खेलकुद विकास समिति सदस्यहरु बिनोद राय, विजय गौतम, सुनील लोप्चन तथा निमित्त शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटालगायतको उपस्थिति थियो ।