हेटौंडा/राक्सिराङ गाउँपालिका-३ स्थित पर्यटकीय क्षेत्र जलपरि झरना तथा पार्कपरिसरबाट पोकाका पोका प्लाष्टिकजन्य फोहर संकलन गरिएको छ । सबडिभिजन वन कार्यालय राक्सिराङको आयोजना तथा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको संयोजनमा प्लाष्टिकजन्य फोहर संकलन भएको हो ।
झरना र पार्क क्षेत्रबाट मिनरल वाटरका बोतलहरु, मदिराका बोतलहरु, जंकफुडका कभरहरु संकलन गरिएको हो । ‘प्लाष्टिकजन्य फोहरका कारण वातावरण शुद्धीकरणमा ठूलो समस्या विश्वभर बढ्दै गइरहेकाले हामीले पर्यटकीय क्षेत्रबाट प्लाष्टिकजन्य फोहर हटाउन चाहेका हौं,’ सबडिभिजन वन कार्यालयका अधिकृत सुजन मुक्तानले भने । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष थलबहादुर थापा (सन्तोष) ले राक्सिराङ गाउँपालिकाभित्रका सबै सामुदायिक वन समूहले प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
स्थानीय सरकारसँगको समेत समन्वयमा फोहर व्यवस्थापन हुनुपर्ने उनले माग गरे । संकलित फोहर बिसर्जनमा पनि समस्या आइरहेको उनको भनाइ थियो । कार्यक्रममा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष ज्ञानेन्द्र तामाङले पर्यटकीय क्षेत्रलाई सफासुग्घर र सुरक्षित बनाउनुपर्ने भन्दै सरकारले यस्ता मसिना कामहरुमा समेत ध्यान दिएकामा खुशी व्यक्त गरे । कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरु, टोलविकास संस्थाका प्रतिनिधिहरु, पालिका प्रहरी तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिको सहभागिता थियो ।