हेटौंडा/आज मंगलबारदेखि हेटौंडामा दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार उद्घाटन खेल मध्याह्न १२ बजे आयोजक नागस्वती भेट्रान्स र एनजेजे भीसी भेट्रान्स सिमराबीच हुने छ भने दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेट्रान्स र पश्चिम चित्रवन भेट्रान्सबीच हुने तालिका सार्वजनिक भएको छ ।
आयोजक नागस्वती भेट्रान्स क्लबले मंसिर ४ गतेदेखि ८ गतेसम्म हुने तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ‘ए’ साइड फुटबल प्रतियोगिताको तयारी सम्पन्न भएको बताएको छ । क्लब अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीको सहभागिता रहने बताए । प्रतियोगिता विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगदसहित शिल्ड र पुरस्कार रहेको क्लब अध्यक्ष तितुङले बताए ।
उनले प्रतियोगितामा देशभरका १५ वटा क्लबको सहभागिता रहेको बताए । प्रतियोगिताका लागि बीस लाख खर्च अनुमान गरिएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नारासाथ आयोजना गर्न लागिएको प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने उनले बताए । चार वर्षअघि स्थापना भएको क्लबले लगातार दुई सिरिज प्रतियोगिता आयोजना गर्दै आयोजक आफैंले उपाधि हासिल गर्न सफल भएको थियो ।