Homeमकवानपुर विशेषहेटौँडा‘संघीयताको मर्मअनुसार सरकार सञ्चालन भएन’

‘संघीयताको मर्मअनुसार सरकार सञ्चालन भएन’

राजकुमार केसी

हेटौंडा/वागमती प्रदेश सरकार संघीयताको मर्म र भावनाअनुरुप सञ्चालन नभएको माओबादी केन्द्र वागमती प्रदेश संसदीय दलले बताएको छ । बुधबार माओबादी केन्द्र वागमती प्रदेशले प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारले प्रदेशका जनताको सेवा, विकास र आवश्यकता सम्बोधन गर्नुपर्नेमा सरकार भए/नभएको अवस्थामा पुगेको उल्लेख गरेको छ ।

माओबादी केन्द्र वागमती प्रदेश दलका नेता शालिकराम जम्कट्टेलसहित सांसद् टोलीले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाएको हो । प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको हैसियतले सर्वदलीय सहमति एवम् निणर्य कार्यान्वयन नभएको र उक्त निणर्य कार्यान्वयन, योजनाबद्ध विकासनिर्माण, सेवाप्रवाह, सहकारीको समस्या समाधानलगायत विभिन्न मागसहित मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाइएको माओबादी केन्द्र प्रदेशका नेता जम्कट्टेलले बताए ।

ज्ञापनपत्रमा प्रदेशका दीर्घकालिन महत्वका योजनाहरुलाई बिनापूर्वाग्रह चालु आर्थिक वर्षमा बिनियोजित बजेटको कार्यक्रमलाई प्राथमिकतामा राखी बहुवर्षीय ठेक्कासम्बन्धि मापदण्डअनुसार योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, कार्यप्रगति न्यून भएका र सम्झौताका म्याद सकिएका तर सम्पन्न नभएका योजनाको अविलम्ब निणर्य गरी कार्य अगाडि बढाउनुपर्ने, प्रचलित ऐन, नियम तथा मापदण्डअनुरुप न्यायोचित हिसाबले कर्मचारी सरुवा गर्नुपर्ने र अस्थायी, करारका कर्मचारीहरुलाई बिनाकारण हटाउन दबाब दिने कार्य बन्द गर्नुपर्ने, समस्याग्रस्त सहकारीमा संलग्नहरुलाई राजनीतिक पूर्वाग्रह नराखी छानबिनको दायरामा ल्याउनुपर्ने, प्रदेश सरकारअन्तर्गत् सहकारीमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउनुपर्ने, विपद्ले जनधनको क्षति भएका प्रभावित जिल्लामा राहत र उद्धारका लागि प्रदेशको सर्वदलीय बैठकले गरेको निणर्य तत्काल कार्यान्वयन गर्नुपर्ने र असोज १२ गते पहिरोमा परी एन्फा एकेडेमी इन्द्रसरोवरका ६ प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाउनुपरेको घटना छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत माग छन् ।

सरकारको कामबाट जनता चरम निराशामा रहेका र कांग्रेस-एमाले गठबन्धन सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने प्रदेशसभा सदस्य कुमारी मोक्तानले बताइन् । सरकारको गलत कार्यको खबरदारी गर्नु प्रतिपक्ष दलको कर्तव्य भएकाले प्रदेश सरकारलाई सजग गराउन ज्ञापनपत्र बुझाइएको मोक्तानले बताइन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ९ गाते वागमतीमा कांग्रेस-एमाले गठबन्धनको प्रदेश सरकार गठन भएको थियो । प्रदेशमा २१ सदस्यसहित माओबादी केन्द्र तेस्रो र सरकारको प्रमुख प्रतिपक्षी दलको रुपमा छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले प्रतिपक्षका रचनात्मक सुझाव अनुशरण गर्ने प्रतिबद्धता जनाए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here