हेटौंडा/वागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले आफ्नो नियुक्तिपश्चात् सय दिनमा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेकी छन् । साउन ९ मा मन्त्री नियुक्त तामाङले आफूले सम्हालेको मन्त्रालयअन्तर्गत् सम्पन्न मुख्य कार्यहरुको समीक्षा प्रस्तुत गरिन् ।
मन्त्री तामाङका अनुसार ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारित भइ प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको छ । ‘प्रदेश औद्योगिक व्यवसाय ऐन’ र ‘प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन’ तयार गरी अन्य मन्त्रालयबाट राय लिइ मन्त्रिपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।
मन्त्री तामाङले आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको बताइन् । उनले उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै ‘प्रविधि हस्तान्तरणसम्बन्धि कार्यविधि, २०७९’ मा आवश्यक संशोधन गरी प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गरिन् ।
साना र घरेलु उद्योग प्रवद्र्धन
साना, घरेलु तथा लघु उद्योगहरुको प्रवद्र्धनमा पनि मन्त्रालयले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने नीतिअनुसार तालिम कार्यक्रमहरुको मस्यौदा तयार गरी आर्थिक मामिला मन्त्रालयमा राय माग गरेको मन्त्री तामाङले जानकारी दिइन् । चालु आर्थिक वर्षमा मात्र करिब २ हजार १ सय ५६ नयाँ उद्योग र व्यापारिक फर्म दर्ता भइसकेका छन् ।
बजार अनुगमनमा सक्रियता
दशैं, तिहारलगायत चाडपर्वमा कालोबजारी नियन्त्रण र उपभोक्ता संरक्षणका लागि नियमित बजार अनुगमन गरिएको छ । यस क्रममा १३ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयले करिब ५ सय ४५ फर्म अनुगमन गरी ६ लाख ५५ हजार जरिवाना र म्याद नाघेका सामग्रीहरु नष्ट गरेका थिए ।
उद्योग पुनस्र्थापना र नवप्रवर्तन सम्मान
अविरल वर्षा र बाढीका कारण उद्योगहरुमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश नीति तथा योजना आयोगमा पठाइएको छ । ‘नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१’ तर्जुमा गरी उत्कृष्ट उद्यमीलाई सम्मान गर्न यस वर्ष प्रदेशभरबाट १४ जना उद्यमी छनौट गर्ने योजना उनले सार्वजनिक गरिन् ।
भूमि व्यवस्थापन र चक्लाबन्दी अध्ययन
मन्त्रालयले नापी कार्यालय मकवानपुरको प्रांगणमा सर्भेपार्क निर्माण तथा गण्डकी प्रदेशको अनुभवको आधारमा चक्लाबन्दीको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरेको छ । भूमि व्यवस्थापन नीति, औद्योगिक नीति, वाणिज्य नीतिलगायत नीति तर्जुमा गर्ने अवधारणापत्र निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।
चुनौती र प्रतिबद्धता
मन्त्री तामाङले कानुनी र व्यवहारिक समस्या सामना गर्दै मन्त्रालयले विभिन्न चुनौतीबीच महत्वपूणर् कार्यहरु सम्पन्न गरेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्-जहाँ चुनौती हुन्छ, त्यहीं समाधानको बाटो खुल्छ । राज्यको चौतर्फी हितका लागि हामी निरन्तर क्रियाशील रहनेछौं । मन्त्री तामाङका अनुसार मन्त्रालयले प्रदेश लगानी बोर्ड, भूमि बैंक स्थापनाका लागि नीतिगत् आधार तयार गर्दै डिजिटल सूचना प्रणालीमार्फत् पारदर्शिता कायम गर्न जोड दिएको छ । मन्त्रीको सय दिने कार्यकालमा वागमती प्रदेशको औद्योगिक, वाणिज्य र प्रशासनिक सुधारमा देखिएका उपलब्धिलाई उनले राज्यको हितमा नयाँ आयामको थालनीका रुपमा लिएकी छन् ।