हार्‍यो ढेंडो

हेटौंडा/नमोबुद्ध क्लब पदमपोखरी र परेली क्लब बस्तीपुरले दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

बुधबार भएको पहिलो क्वार्टरफाइनलमा नमोबुद्धले एफसी ढेंडोलाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ११ औं मिनेटमा आकाश रानाको गोलमार्फत् नमोबुद्धले खेलमा अग्रता लिएको थियो । ४२ औं मिनेटमा सामुयल सुनारले फ्रीकिकमार्फत् सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । ढेंडो एफसीका अस्मित दुराले ५५ औं मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । नमोबुद्धमा सामुयल सुनार खेलको म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा एफसी परेलीले जनसिद्ध युवा क्लबलाई २-० ले हराउँदै सेमिफाइनल भिडन्त पक्का गर्‍यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको परेलीले दोस्रो हाफमा २ गोल थपेको हो । दोस्रो हाफको छैठौं मिनेटमा समीप ढकालको गोलमार्फत् परेलीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै प्रिफ स्यांतानले अग्रता दोब्बर बनाए । जनसिद्धले गोल गर्ने केही राम्रो मौका पाए पनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ द म्याच परेलीका सलिल ढकाल घोषित भए ।

जारी प्रतियोगितामा बिहीबार पहिलो खेल मनहरी-५ र मनहरी-२ बीच हुनेछ भने दोस्रो खेल पदमपोखरी युनाइटेड र मकवानपुरगढी जेसीजबीच हुनेछ । मंसिर ३ गतेसम्म सञ्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता छ । प्रतियोगिता विजेताले एक लाख एक हजार १ सय ११ रुपियाँ तथा उपविजेताले ५१ हजार १ सय ५१ रुपियाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँच सय तथा अन्य विधागत् उत्कृष्टले जनही नगद ३ हजार पाँच सय रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् । चैनपुर जेसीज मनहरीको आयोजना तथा ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here