Homeमकवानपुर विशेषहेटौँडापदमपोखरी र मनहरी-५ क्वार्टरमा

पदमपोखरी र मनहरी-५ क्वार्टरमा

हेटौंडा/चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी-४, मसिने गोलघर खेलमैदानमा जारी दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा पदमपोखरी युनाइटेड र मनहरी-५ नम्बर वडा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

मंगलबार पहिलो खेलमा पदमपोखरीले राप्तिरिभर युथ क्लबलाई टाइब्रेकरमा ५-३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत् विजेताको छिनोफानो गरिएको हो । पदमपोखरीका मैसाङ वाइबा, सुशील गोले, बिमल लामा, प्रजेश मोक्तान र निर्मल घिसिङको प्रहार गोलमा परिणत हुँदा राप्तिरिभरका रमेश थिङ, उज्ज्वल तिमल्सिना र सौरभ गोलेले गोल गरे । विवेक मगरको प्रहारलाई भने पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । गोलरक्षक थिङ खेलको म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा मनहरी-५ ले ऋषेश्वरी युवा क्लब मनहरी-४ लाई हरायो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत् विजेताको टुंगो लगाइएको थियो । दुवै टिमले १०-१० प्रहार गर्दा मनहरी-५ ले ८ र ऋषेश्वरीले ७ गोल गरेका थिए । २ वटा प्रहार बचाएका मनहरी-५ का गोलरक्षक अमित स्यांतान खेलको म्यान अफ दी म्याच भए ।

जारी प्रतियोगितामा बुधबारबाट क्वार्टरफाइनल चरणका खेल हुनेछन् । मंसिर ३ गतेसम्म सञ्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता छ । प्रतियोगिता विजेताले एक लाख एक हजार १ सय ११ रुपियाँ तथा उपविजेताले ५१ हजार १ सय ५१ रुपियाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँच सय तथा अन्य विधागत् उत्कृष्टले जनही नगद ३ हजार पाँच सय रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् । पालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here