हेटौंडा/पेट्रोल ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा हेटौंडामा एक प्राविधिकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पेट्रोलसहितको ट्यांकरको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।
टायर पड्किँदा भारत घर भइ हेटौंडा-११, थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका करिब ३४ वर्षीय मोहम्मद ऐजाज छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोमबार राति करिब १ बजे मधेश प्रदेश-०३-००२ ख ०३०० नम्बर पेट्रोल ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर खोलेर मर्मतपछि हावा भर्दा टायर विस्फोट भएको हो । घटनामा टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर-२ का १८ वर्षीय जाबिर हवारी, ट्यांकर चालक हेटौंडा-११ का ३९ वर्षीय देवान लामा, अर्का चालक धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर-२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा-११ स्थित नवलपुरका करिब ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-८ का लक्ष्मण थापा घाइते भएका छन् ।
घाइतेमध्ये ट्यांकर चालक लामाको अवस्था मध्यम रहेको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए ।