Homeमकवानपुर विशेषहेटौँडाअग्निदहन मंसिर ७ देखि

अग्निदहन मंसिर ७ देखि

हेटौंडा/मंसिर ७ गतेदेखि हलमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र अग्निदहनको निर्माण टिम यतिखेर प्रचारमा सक्रिय छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान प्रस्तुतिमा छायांकन गरिएको फिल्म लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित छ ।

नेपालकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको चलचित्रलाई चलचित्र विकास बोर्डले ॅविशेष चलचित्र अवार्ड’ दिएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मले बोक्सीको कुप्रथाको नाममा समाजले महिलामाथि गर्ने अत्याचार र यसविरुद्ध महिलाले गर्ने संघर्षको कथा पेश गर्छ । यसअघि धौली, लण्डन टु पेरिस, पञ्चैबाजा र चित्रा निर्देशन गरेका लामिछानेको यो पाँचौं निर्देशकीय फिचर हुनेछ । हलमा प्रदर्शनअघि यसलाई नेपाल र भारतका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शन गरिएको थियो ।

सोमबार चलचित्र पत्रकार संघ नेपाल मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान अध्यक्ष कोबिदशरण उपाध्यायले बोक्सीप्रथाका नाममा हुने अन्याय र कुकृत्यलाई उजागर गर्न सिनेमा निर्माण गरिएको बताए । ॅपहिलो चरणमा किताब र गीत निर्माण गरेर सुरु गरिएको अभियान सकारात्मक प्रतिक्रिया पाएपछि चलचित्रको रुपमा आएको हो,’ उपाध्यायले भने ।

सामाजिक जागरणको उद्धेश्यले निर्माण गरिएको सिनेमा देशभरका ५ सय भन्दा बढी स्थानमा प्रदर्शन गरिनेछ । सिनेमालाई भोजपुरी र मैथली भाषामा डब गरिएको छ भने छिट्टै हिन्दीमा पनि डब हुने उपाध्यायले जानकारी गराए । उनले अग्निदहनले कमाएको रकम निर्माताको व्यक्तिगत् फाइदामा नभइ बोक्सीप्रथा उन्मूलन जस्ता सामाजिक चेतना अभियानमा लगाइने बताए ।

निर्देशक घनश्याम लामिछानेले अग्निदहनलाई मनोरञ्जनभन्दा बढी सामाजिक चेतनाप्रवाह गर्ने चलचित्रका रुपमा प्रस्तुत गरिएको बताए । करिब ९० मिनेट लामो चलचित्रमा नेपाली समाजको वास्तविक परिवेशलाई चित्रण गरिएको छ । कलाकार प्रकाश घिमिरेले उक्त चलचित्रले समाजमा सन्देशप्रवाह गर्ने उद्धेश्य राखेको बताए । ॅबोक्सीप्रथाविरुद्ध कथामा अभिनय गर्न पाउँदा खुशी लागेको छ,’ घिमिरेले भने । चलचित्रमा प्रमिला तुलाचन बोक्सीको भूमिकामा प्रस्तुत भएकी छन् भने लोकदोहोरी क्षेत्रबाट आएका कलाकार तुलसी क्षेत्रीले पहिलो पटक अभिनय गरेको चलचित्र उनका लागि विशेष रहेको बताइन् ।

लोकमणि पौडेलको कथा तथा पटकथामा बनेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्रीलगायत कलाकारको अभिनय छ । चलचित्रको निर्माणमा कोबिदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन र शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

दुई मिनेट ३६ सेकेन्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काँप्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ । समाजसेवीको भूमिका निभाएका प्रकाश घिमिरेले ॅबोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझँँक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनालाई ट्रेलरमा स्थान दिइएको छ ।

बोक्सीको आरोप लगाइएकी माइली दमिनी भनिएकी महिला प्रमिला तुलाचनले चलचित्रकी कलाकार अनुपमा भण्डारीलाई ॅअञ्जली, म तिमीलाई लिन आएको’ भन्दै बोलाउन थालेपछि अनुपमामा देखिएको त्रासलाई ट्रेलरमा देखाइएको छ । बोक्सीको आरोप लागेपछि महिला कतिसम्म विक्षिप्त हुन्छन् भन्ने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ । उपन्यास अप्रकाशित अवस्थामा छँदै उपन्यासको आंशिक कथालाई लिएर बनेको अग्निदहन नामक चलचित्रले चलचित्र विकास बोर्डबाट प्रदान गरिने २०७४ को सर्वश्रेष्ठ कथा पुरस्कार जित्न सफल भएको थियो । रसायनशास्त्रमा स्नातकोत्तर लोकमणि पौडेल विज्ञान कथाकारका रुपमा पनि परिचित छन् ।

नेपाली भाषामा पनि उनको कलम उत्तिकै बलियोसँग चलेको पाइन्छ । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वणर्पदकद्वारा विभुषित पौडेल लामो समयसम्म पत्रकारितामा रहे । पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर अध्यक्ष कपिल खड्का तथा प्रतिष्ठान सदस्य दीपक पराजुलीलगायतको उपस्थिति थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here