हेटौंडा/चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को जेसीज सप्ताह सुरु भएको छ । सोमबार मनहरी-७, मनहरी बजारमा रक्तदान कार्यक्रम गर्दै जेसीज सप्ताह सुरु गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
मनहरी-४ मा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगितासमेत आयोजना गरिरहेको जेसीजले सोमबारबाट आफ्नो सप्ताहव्यापी कार्यक्रमसमेत सुरु गरेको हो । कार्यक्रम संयोजक अभिनाष मल्लको संयोजकत्व एवम् जेसीज अध्यक्ष रविन ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका-७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यता थियो ।
पछिल्लो समय स्थापना भएको जेसीजले मकवानपुरको पश्चिम भेगमा राम्रो कामहरु गरिरहेको भन्दै वडाध्यक्ष तितुङले जेसीजको प्रशंसा गरे । कार्यक्रममा चैनपुर जेसीज मनहरी संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, सल्लाहकारद्वय ज्योतिराज लुइँटेल र बिदुर थापा, रेडक्रस सोसाइटी मनहरी उपशाखा कोषाध्यक्ष शिवकुमार काशी, उद्योग वाणिज्य संघ मनहरी निवर्तमान अध्यक्ष नारायण सुबेदी, कुखुरा व्यवसायी संघ मकवानपुर उपाध्यक्ष गोबिन्द सापकोटालगायतको आतिथ्यता थियो । कार्यक्रममा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जेसीज सप्ताहको विषयमा प्रष्ट पारेका थिए ।
जेसीज सप्ताहअन्तर्गत् मंगलबार प्रगति प्रावि लोथरमा स्टेशनरी सामग्री वितरण, बुधबार स्लो मोटरसाइकल प्रतियोगिता, बिहीबार महेन्द्रज्योति मावि हाँडीखोलामा लागुपदार्थ दुव्र्यसनसम्बन्धि सचेतना कार्यक्रम, शुक्रबार ‘समाजका लागि युवा’ विषयक बालज्योति मावि मनहरी-१ मा वत्तृmत्वकला र शनिबार हाँडीखोलाको लामिटारदेखि गोलघरसम्म जेसीज दौड प्रतियोगिता हुनेछ ।