रुपक कालीराज
हेटौंडा/उपचार खर्चको अभावका कारण उपचारबाट बञ्चित भएका एक बालकले अब स्थानीय सरकारको सहयोगबाट पूणर् उपचार पाउने भएका छन् । १८ महिनाको आरोन थिङले अब हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा उपचार पाउने पक्का भएको हो । हेटौंडा-१५ का अध्यक्ष सुनील मोक्तानको उक्त सहयोग प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले बताए । बालकको पीडाबारे कात्र्तिक २१ गते हेटौंडा सन्देशले प्राथमिकतासाथ समाचार प्रकाशन गरेको थियो ।
लामो समयदेखि बालकको उपचारका लागि परिवारका सदस्य बिभिन्न ठाउँ चहारिरहेको अवस्थामा उनको उपचारका लागि स्थानीय सरकारले जिम्मेवारी लिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताइन् । अवोध बालकमा रहेको पीडा हटाउनका लागि स्थानीय सरकारले चिकित्सकको सल्लाहअनुसार उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने उनले जानकारी दिइन् । हाल ३ लाख ५० हजार खर्च लाग्छ भनिएको छ, त्यस खर्च उपमहानगरले व्यहोर्ने सोमबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत् निणर्य गरेको नगर प्रमुख लामाले बताइन् ।
आरोनको सानो शरीरमा असह्य पीडा छ । आरोन, जसले न आफ्ना आमाबाबुलाई भन्न बोल्न सक्छन्, न त आफ्नो पीडा व्यक्त गर्न । हरेक पटक दिशा गर्दा उनको आँखाबाट आँसु झर्छ । तर, बाबु मनिष थिङ र आमा एञ्जिला स्यांतान केवल टुलुटुलु हेर्न बाध्य छन् । २०८० जेठ २ गते मनिष र एञ्जिलाको जीवनको सबभन्दा खुशीको दिन हुनुपथ्र्यो । उनीहरु आफ्नो पहिलो सन्तानका बाबुआमा बनेका थिए ।
तर, जन्मेको केही घण्टामै बालक आरोनले बान्ता गर्न थाल्यो । हेटौंडा अस्पताल लगियो । डाक्टरको मुखबाट निस्केको शब्दले उनीहरुको संसार नै थर्कियो-तपाईंहरुका छोराको मलद्वार छैन । त्यस क्षण उनीहरुको आँखामा अँध्यारो छायो । २१ वर्षीया एञ्जिलाको मुखबाट चित्कार निस्कियो । दुई जना माया गर्ने बहिनी एक १७ की, अर्की २० कीको आँखा रसाए ।
काठमाडौंको बाल अस्पताल लैजानुपर्ने भयो । तर, कहाँबाट ल्याउने पैसा ? विहान-बेलुकाको छाक टार्न मुस्किल परिवार । जसोतसो साढे तीन लाख जुटाएर प्रारम्भिक उपचार गरियो । डाक्टरले भने-हाललाई पेटबाट दिशा गर्ने बाटो बनाएका छौं । ६ महिनापछि आउनुहोस् । तर, १८ महिना बित्दा पनि मनिषले थप उपचारका लागि पैसा जुटाउन सकेका छैनन् । पहिलेको ऋण तिर्दातिर्दै थाकेका छन् । अब थप ५-६ लाख कहाँबाट ल्याउने । ‘हरेक रात छोराको रुवाइ सुन्दा निद्रा लाग्दैन,’ मनिष भन्छन्-आँसु थाम्न नसकी । यति फूर्तिलो, यति बाठो छोरा । तर, मेरो गरिबीले उसलाई पीडा दिइरहेछ ।
एञ्जिला थप्छिन्-विहान-बेलुका छाक टार्न धौधौ छ । छोराको उपचार कसरी गर्ने । स्थानीय वडा कार्यालय गएँ । पहिला उपचार गर्नुस्, बिल ल्याउनुस्, त्यसपछिमात्र सहयोग गर्न सकिन्छ । तर, पैसा भएको भए किन जान्थे सहयोग माग्न ? आशा लिएर गएका मनिष र एञ्जिला रित्तो हात फर्के । १८ महिनाको आरोन आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । उनको मुखबाट निस्कने रुवाइले आमाबाबुको मुटु छट्पटाउँछ । उनीहरुको आँखामा आशाको एउटै किरण छ-कतैबाट सहयोग मिल्ला र छोराको उपचार होला । ‘मेरो आशा तपाईंहरु नै हुनुहुन्छ,’ मनिष भन्छन्-यदि सहयोग पाए भने मेरो छोरालाई नयाँ जीवन दिन सक्छु । अब उनीहरुको आवश्यकता उपमहानगरले पूरा गरी सामाजिक दायित्व निर्वाह गर्ने भएको छ ।