Homeमकवानपुर विशेषहेटौँडाउपनिर्वाचन तिक्तता वा लोकतन्त्रको अभ्यास

उपनिर्वाचन तिक्तता वा लोकतन्त्रको अभ्यास

हेटौंडा/आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । जसअन्तर्गत् वागमती प्रदेशमा मात्र एक नगरप्रमुख, एक गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ७ जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन
हुँदैछ ।

वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) पद तथा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । कीर्तिपुर नगरपालिकाका वडा नम्बर-१ र ४, काठमाडौं महानगरपालिकाको वडा नम्बर-१६, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर-२ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

यी सातमध्ये गत निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको थियो भने नेकपा माओवादी केन्द्रले एक स्थान र स्वतन्त्र उमेद्वारले एक स्थानमा जितेका थिए । नेकपा एमाले यी सात ठाउँमा पराजित हुनुपरेको थियो । यही पराजयलाई ध्यानमा राखेर एमाले आगामी उपनिर्वाचनमा आफ्नो बलियो उपस्थिति जनाउने रणनीतिमा छ भने नेपाली कांग्रेस आफ्नो ५ स्थानमात्र भए पनि जोगाउने ध्याउन्नमा लागेको छ । सत्ता बहिर्गमनबाट छट्पटिएको माओवादी पनि आफूलाई बलियो दाबेदारका रुपमा पेश गर्दै आएको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा राजकुमार नकर्मी, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा श्यामसुन्दर तामाङ, कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा हीरालाल महर्जन, काठमाडौं महानगरपालिका -१६ को वडाध्यक्षमा मुकुन्द रिजाल र नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षमा तिलकबहादुर लामा निर्वाचित भएका थिए । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उमेद्वार श्यामसुन्दर अधिकारी निर्वाचित भएका थिए भने हेटौंडा-१२ को वडाध्यक्षमा माओवादी केन्द्रबाट ललितबहादुर घलान निर्वाचित भएका थिए ।

यी निर्वाचित सात जनप्रतिनिधिमध्ये छ जनाको निधन भएको छ भने हेटौंडा-१२ मा निर्वाचित तत्कालीन वडाध्यक्ष घलान जिल्ला समन्वय समिति मकवानपुर अध्यक्षमा निर्वाचित भएसँगै वडाध्यक्ष पद रिक्त छ । यी रिक्त सात स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

वर्तमान सत्तागठबन्धनमा सँगै भएका यी ठूला दुई दल कांग्रेस र एमाले एक्लाएक्लै उपनिर्वाचनमा होमिने घोषणासाथ अगाडि बढिरहेका छन् । यस निर्वाचनले यिनीहरुबीच सत्ता सहकार्यमा तिक्तता आउँछ वा लोकतन्त्रको अभ्यासका रुपमा लिन्छन्, त्यो भने हेर्न बाँकी नै छ । सरकारमा सँगै रहेका दुई ठूला दल एकापसमा प्रतिष्पर्धी भइ निर्वाचनमा होमिँदा यस उपनिर्वाचन सम्झनलायक चाहीं पक्कै हुनेछ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here