बसन्त भण्डारी
हेटौंडा/हेटौंडा उपमहानगरपालिका-८, कमानेस्थित गौरीचोकका स्थानीय, विशेषगरि गंगा शिवाकोटी धिताल हाल गहिरो आर्थिक संकट र मानसिक पीडामा छन् ।
मित दाइका रुपमा चिनिएका धननारायण श्रेष्ठले भरपर्दो सम्बन्धको आडमा ठूलो विश्वासमा ठगी गर्दै परिवारसहित सम्पर्कविहीन भएपछि गंगा र अन्य पीडितहरुलाई गम्भीर आर्थिक समस्या आएको छ । गंगाले भनिन्-उहाँले मितिनीको नातामा बाँधेर ४४ लाख सापटी लिएर घर नै धितो राख्न लगाउनुभयो । तर, हाल आएर सबै पैसा डुबाउने काम भयो । बैंकले लोन नतिरे घर लिलामीको प्रक्रिया सुरु गर्छौं भनेको छ । जसलाई ठूलो विश्वास गरें, उसैले घात गर्यो । उनका यी शब्दले स्थानीयलाई गहिरो प्रभाव पारेको छ ।
गंगाले थपिन्-धननारायणले कमानेकै अन्य धेरै व्यक्तिहरुसँग पनि लाखौं सापटी लिएका थिए । कहिल्यै शंका लागेन । हाल सबैलाई ठगेर फरार भएको कुरा थाहा पाउँदा आकाश खसेजस्तै भएको छ । गाउँलेहरुका अनुसार धननारायण र उनका परिवारले राति १२ बजे सबै सामान गाडीमा हालेर गाउँ छाडेका थिए । यो खबर विहानमात्र छिमेकीहरुलाई थाहा भयो, जसले गर्दा गाउँभरि हल्ला मच्चियो । हाल गाउँका सबै त्रसित छन् । किनकि, विभिन्न सहकारी संस्थाले पनि लोन तिर्न दबाब दिन थालेका छन् । अन्य पीडितले पनि धननारायणको ठगीबाट परेको मारबारे अनुभव सुनाएका छन् ।
धननारायणले मितिनीको नाताको आडमा गंगालाई घर धितो राखेर सापटी रकम जुटाउन लगाएका थिए । गंगाले भनिन्-मलाई थाहा थिएन कि जसलाई म मित दाइ भन्थें, उसैले मेरो सम्पूणर् मेहनतलाई नाश गरिदिन्छन् । हाल त घर गुमाउने अवस्थामा छु । पीडित स्थानीय शंकर देउलाले भने-जसलाई सधैं विश्वास गरिन्थ्यो, उसैले धोका दियो । जिन्दगीभरको दुःखले जोडेका रकम दिएर धोका पायौं ।
गंगाको परिवार हाल मानसिक तनाव र आर्थिक संकटमा गुज्रिरहेको छ । उनका ४५ वर्षीय पति र १६ वर्षीय छोरासहित उनी घरको अस्थिर भविष्यको चिन्तामा छिन् । गंगाकी छोरी समीक्षा धिताल भने विवाह गरेर आफ्नै घरमा बस्छिन् । ठगिएकोबारे कुरा गर्दै उनले भनिन्-हामीलाई यस्तो हुन्छ भन्ने कल्पना थिएन । उहाँले पहिले हामीलाई सहयोगसमेत गर्नुभएको थियो । तर, यसरी सम्पूणर् लगानीलाई ठगी गर्नुहुनेछ भन्ने कहिल्यै सोचिएन । स्थानीयले धननारायणको खोजी र न्यायका लागि प्रशासनसँग आग्रह गरेका छन् । गंगाले पीडासहित भनिन्-विश्वासकै कारण जिन्दगीभरि दुःख गरेर जोडेको सम्पत्ति नाशमा पुगेको छ । अब गंगासहित अन्य पीडितले न्याय र घरको सुरक्षाका लागि प्रशासनको सहयोगमा भरोसा राखेका छन् ।