हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाइ, पन्डाल टाँग्नेलगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो ।
बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ॅगत वर्षको भन्दा यस वर्ष झन्डै सय फिट लामो पन्डाल टाँगिएको छ, छठ पूजा समारोह समिति संयोजक रवि गुप्ताले भने-राप्ती खोला ठूलो भएकाले व्यवस्थित गर्न केही समय बढी लागेको छ । तर, हामी तयारीको अन्तिम चरणमा पुगेका छौं ।
तटमा टाँगिएको पन्डालमा ७ सयजना भन्दा बढी व्रतालु अट्ने क्षमताको छ । व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको हुने गर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकको दाबी छ । यस वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने उनीहरुको अनुमान छ ।
तराई/मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व हाल सेतुको रुपमा छ । समिति संयोजक गुप्ताले भने-यस पर्वले सबै समुदायलाई समेट्दै अगाडि बढेको छ । हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँ बसोबास गर्ने मधेशका हुन् वा पहाडका अधिकांश छठ पर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठ पर्व विशेषगरि तराईबासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडी दुवै समुदायले भक्तिभावले मनाउने गरेको सुशील सिनोरियो बनियाँले बताए ।
हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँ बत्ती बालेर झिलिमिली बनाइएको छ । नियम निष्ठासाथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार व्रतालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्छन् । यसलाई नहायखाय भनिने गरिएको छ ।